Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टिप्पणी

पूर्णबहादुरको सारंगी नबज्दा फुट्यो कांग्रेस

काठमाडौँ । चलचित्र पूर्णबहादुरको सारंगीमा एउटा पीडा छ । त्यो पीडा गरिबीको मात्र होइन, सुन्ने कान हराउँदै गएको समाजको हो । बाबुले सारंगी बजाउँछन्, छोरा लजाउँछ । बाबु परम्परा समातेर उभिन्छन्, छोरा समयसँग दौडिन चाहन्छ । यही द्वन्द्व पूर्णबहादुरको सारंगीको आत्मा हो ।
आज नेपाली कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हेर्दा पनि त्यही सारंगीको धुन सुनिन्छ — मधुर तर कमजोर, भावुक तर निर्णयहीन।

जेनजी आन्दोलनपछि शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाए । हातमा सारंगी आयो । पार्टीको इतिहास, विधान र बहुमत प्रतिनिधिको हस्ताक्षर उनको काँधमा थियो । तर  उनले त्यो सारंगी बजाउनै सकेनन् । केवल छातीमा झुन्ड्याएर हिँडे । 

चलचित्रका पूर्णबहादुर सारंगीलाई जीवन ठान्छन् । अपमान सहन्छन्, गरिबी सहन्छन्, तर सारंगी छोड्दैनन् । कांग्रेसका पूर्णबहादुर खड्काले भने पार्टीभित्रको सबैभन्दा निर्णायक क्षणमा सारंगी बजाउने आँट देखाउन सकेनन् । बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागे । त्यो कांग्रेसको सारंगी थियो — परिवर्तनको, विद्रोहको, आत्मसुधारको धुन । तर कार्यवाहक सभापतिको हात काँप्यो ।

तीन महिना मौन बस्नु केवल ढिलासुस्ती थिएन । त्यो नेतृत्वको मौन अस्वीकार थियो । चलचित्रमा पूर्णबहादुरको छोरा सारंगीबाट भाग्न खोज्छ, किनकि त्यो उसलाई अभावको प्रतीक लाग्छ । कांग्रेसका कार्यवाहक सभापतिले पनि विशेष महाधिवेशनलाई संकटको प्रतीक ठाने, अवसरको रूपमा हेर्न सकेनन् ।

फरक यति हो, चलचित्रमा बाबुले अन्ततः छोरालाई सारंगीको मर्म बुझाउन खोज्छ । यहाँ भने पूर्णबहादुरले महामन्त्रीद्वयलाई न त बुझाउन सके न त आफै बुझे । उनले सारंगीको अर्थ बुझेन्। पाएको सारंगीलाई मीठो धुन दिन सकेनन् । 

कांग्रेसको इतिहासले देखाएको छ— कार्यवाहक सभापति कमजोर पद होइन । किसुनजीले यही पदबाट पार्टी विभाजन रोक्न सके । एकपटक मञ्चमै गएर सारंगी बजाइदिए । धुनले सबैलाई रोक्यो । तर खड्काको पालामा सारंगी कांधमा थियो, उनले रेट्न जानेनन्, चाहेनन् ।  

बरु महामन्त्रीहरूले ढोल बजाए । प्रतिनिधिहरूले ताल दिए । तर सारंगीको धुन नआएपछि संगीत बिथोलियो । विशेष महाधिवेशन बह्यो ।  अन्ततः पार्टी अनुशासनको नाममा निष्कासन गरेर पूर्णबहादुरले सारंगीले ढोलमा हान्न खोजे । र पार्टी फुट्न पुग्यो । 

चलचित्रमा पूर्णबहादुर कमजोर देखिन्छन्, तर इमानदार छन् । समाजले नसुने पनि उनी बजाइरहन्छन् । कांग्रेसका पूर्णबहादुर खड्काको इमानदारीमाथि प्रश्न छैन । प्रश्न केवल यति हो—जब पार्टीले बजाउन आग्रह गर्‍यो, उनले किन सारंगी किन रेटेनन् ? उनले रेटेनन् कि रेट्न दिइएन । स्वभाव, लगाव हेर्दा उनले सारंगी उठाउन खोजेनन् । गगन-विश्वलाई कम आँके । देउवालाई ढाडसको नाममा पूर्णबहादुर उल्टै पार्टी फुट्को मतियार बने ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार