NL न्यूज
काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा शक्तिशाली बनेको देखिएको छ। देशका धेरै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले उल्लेखनीय मत पाउँदै अग्रता लिइरहेका छन्। यसले धेरैलाई प्रश्न गर्न बाध्य बनाएको छ—रास्वपाको पक्षमा यस्तो ‘सुनामी’ किन आयो ?
विश्लेषकहरूका अनुसार यसको पहिलो र प्रमुख कारण परिवर्तनप्रतिको तीव्र जनचाहना हो। लामो समयदेखि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता दलहरू सत्तामा पुग्दै आए पनि जनताले अपेक्षा गरेको आर्थिक र राजनीतिक परिवर्तन नआएको निष्कर्ष धेरै मतदातामा बनेको देखिन्छ। यही निराशाले नयाँ विकल्पतर्फ मतदातालाई आकर्षित गरेको मानिन्छ।
यसमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहको प्रभाव पनि महत्वपूर्ण मानिएको छ। रास्वपामा बालेनको प्रवेशपछि पार्टीप्रतिको आकर्षण झन् बढेको बताइन्छ। विशेषगरी युवा मतदातामाझ बालेनको लोकप्रियताले रास्वपाको पक्षमा वातावरण बनाउन मद्दत गरेको विश्लेषण गरिएको छ।
युवाहरूको सक्रियता पनि अर्को महत्वपूर्ण कारण बनेको छ। परिवर्तनको पक्षमा दृढ रहेका धेरै युवाहरूले आफ्ना परिवारभित्रै अभियान चलाउँदै अभिभावक र आफन्तलाई नयाँ राजनीतिक विकल्प रोज्न आग्रह गरेका थिए। यसले मतदान व्यवहारमा पनि प्रभाव पारेको देखिन्छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यस क्रममा भएको गोलीकाण्डपछि पुराना दलप्रति युवाहरूको आक्रोश झन् बढेको थियो। आन्दोलनपछि पनि परम्परागत राजनीतिक नेतृत्वले युवाको असन्तुष्टि गम्भीर रूपमा नबुझेको धारणा फैलिँदा त्यसको राजनीतिक असर निर्वाचनमा देखिएको बताइन्छ।
यसका साथै ठूला दलहरूबीच हुने चुनावी गठबन्धन, सत्ताकै वरिपरि केन्द्रित राजनीति र बेरोजगारीका कारण विदेशिएका नेपालीहरूको असन्तुष्टिले पनि रास्वपाको पक्षमा माहोल बनाउन भूमिका खेलेको देखिन्छ। यी सबै कारणले गर्दा धेरै मतदाताले रास्वपालाई परिवर्तनको सम्भावित माध्यमका रूपमा हेर्दै समर्थन गरेका छन्। यही कारणले यसपटकको निर्वाचनमा देशभर ‘घण्टी’ को आवाज बलियो रूपमा सुनिएको विश्लेषण गरिएको छ।





प्रतिक्रिया दिनुहोस्