Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

फुट्यो कांग्रेस

भदौको युवाजनआन्दोलनदेखि कांग्रेस फुटसम्म: परिवर्तनको नाराले इतिहास किन दोहोर्‍यायो?

काठमाडौं ।  भदौ २३-२४ को जेनजी आन्दोलनले सरकारमात्र होइन, राजनीतिक दलमा पनि बद्लाव चाहेको थियो । कांग्रेस-एमाले जस्ता मुख्य दलका नेतृत्वमा पनि फेरबदल खोजेको थियो । परिणामस्वरुप एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई नेता ईश्वर पोखरेल समूहले चुनौति दिए । पार्टीमा वलियो पकड राखेका ओलीसँग परिवर्तन खोज्न सहज थिएन । त्यसैले हालै कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको विशेष महाधिवेशनको उद्घाटनका दिन एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेका थिए- 'हामीले बोल्यौ, केही गरयौ । तपाईंहरूले बोल्नू भयो, हामीभन्दा धेरै गर्नु भयो । सलाम मित्रहरू !' भट्टराई र थापाहरु पार्टीका समकालीन नेता हुन् । त्यसैले उनले परिवर्तनको संकेतका रुपमा लेखेका थिए । तर, त्यो परिवर्तनलाई पुराना नेताहरुले आत्मसाथ गर्दा कांग्रेस इतिहासको कालखण्डमा तेस्रो पटक विभाजित भएको छ ।

भदौको नवयुवा आन्दोलनको जगमा उभिएर कांग्रेसभित्र पनि परिवर्तनको शंखनाद भएको थियो । आन्दोलनका क्रममा कुटिएका देउवा असोज २८ गतेको केन्द्रीय समितिमा सक्रिय राजनीतिबाट बाहिर रहने घोषणा गर्न पुगेका थिए । उनले कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । महाधिवेशनको माग चर्को थियो । यसैपनि विधानत: कांग्रेसको महाधिवेशन गएको मंसिरमा हुनुपर्ने थियो । त्यो हुन नदिन मुख्यत: देउवा कोटरीका सात नेता सक्रिय थिए । त्यही देखेर थापा-शर्मा समूह विशेष महाधिवेशनको पक्षमा उभिए । अनि गुरुराज घिमिरेदेखि मधु आचार्यसम्म हस्ताक्षर अभियानमा जुट्यो ।

उनीहरुले २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराए । यो कांग्रेसको विधान धारा १७ को उपधारा २ ले दिएको अधिकार थियो । तर, संस्थापन मान्ने पक्षमा देखिएन । उल्टो कार्यसम्पादन समितिमा बहुमत देखाएर बैशाखमा महाधिवेशन तोकियो । यही बीचमा निष्क्रिय बस्ने घोषणा गरेका सभापति देउवा राजनीतिक दाउपेचमा मात्र लागेनन्, निर्वाचनका लागि समानुपातिक उम्मेदवार छान्ने देखि राष्ट्रियसभाको उम्मेदवार टुंग्याउनसम्म लागे । र एमालेसँग सहकार्यको हात अघि बढाए । यो देखेका विशेष पक्षधरहरु कुनै हालतमा महाधिवेशन गर्न उत्रिए । पुस २७ गते हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाएको तीन महिना पुग्यो र सुरु भयो भृकुटीमण्डपमा महाधिवेशन ।

यो महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग लिएको तथ्याङ्क छ । यो विशेष महाधिवेशनलाई संस्थापन पक्षले मान्यता दिएन । तर, हलले मुख्य एजेण्डा तोक्दै नेतृत्व परिवर्तनका लागि निर्वाचन प्रक्रिया नै अघि बढायो ।
शेष महाधिवेशन पक्षधरका एजेण्डा :
-नेतृत्व परिवर्तन
-नीति परिवर्तन
-विधान संशोधन
-वर्तमान राजनीतिक अवस्थाको विश्लेषण

नेतृत्व परिवर्तनसम्म पुगेपछि यता, कांग्रेस संस्थापनले बहुमत केन्द्रीय समितिको बैठक बोलाएर गगन-विश्व र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारवाही गर्‍यो । अर्कोतिर विशेष महाधिवेशनको हलले देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै नयाँ कार्यसमिति गठनको तयारी अघि बढायो । यही बीचमा तारन्तार छलफल र वार्ता चले । तर, शेरबहादुर देउवाले आफ्नो बहिर्गमन नचाहेपछि पार्टी विभाजनमा पुग्यो । कसले आधिकारिकता पाउने त्यो केही दिनमै निर्वाचन आयोगले टुंगो लगाउला । दुबैमध्यै एउटा पक्षलाई मान्यता दिए अर्को पक्ष अदालत जानसक्छ । कांग्रेससँगै देशकै राजनीतिका लागि अब जटिल विषय बन्न सक्छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार