Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस फुटतर्फ ? कार्यवाहक सभापति खड्काको गम्भीर चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी गम्भीर मोडमा पुगेको संकेत गर्दै कांग्रेस फुटतर्फ अघि बढेको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा जम्मा भएका नेता–कार्यकर्तालाई पछिल्लो वार्ताको अवस्थाबारे ब्रिफिङ गर्दै अब पार्टी विभाजनको दिशातर्फ गएको निष्कर्ष सुनाएका हुन्।

खड्काका अनुसार सभापति शेरबहादुर देउवाले अधिकतम लचकता देखाउँदा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमति नमान्नुका साथै उम्मेदवारी मनोनयन प्रक्रिया नै अघि बढाइसकेकाले संकट गहिरिएको हो। उनले अब केन्द्रीय कार्यसमिति बैठक हिजोको जस्तै स्थगित नहुने स्पष्ट गर्दै आवश्यक थप कदम चालिने संकेत दिएका छन्। स्रोतका अनुसार केहीबेरमै महामन्त्रीद्वयविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने सम्भावना पनि बलियो बनेको छ।

विश्वप्रकाशले गरे नयाँ प्रस्ताव
यहीबीच, सानेपामा केन्द्रीय कार्यसमिति बैठकका लागि पुगेका कार्यवाहक सभापति खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि नयाँ प्रस्ताव पठाएका छन्। खड्काको कार्यकक्षमा उक्त प्रस्तावमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए।

‘सहमतिका लागि नयाँ प्रस्ताव आएको छ, त्यसबारे छलफल भइरहेको छ,’ ती नेताले बताए। यसअघि सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले देउवालाई सक्रिय भूमिकाबाट विश्राम लिन आग्रह गरेका थिए। उनीहरूले आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अन्तिम हस्ताक्षर कार्यवाहक सभापतिको हुने व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

त्यस्तै, देउवाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गर्नुपर्ने र विशेष महाधिवेशनले गरेका निर्णयलाई औपचारिक मान्यता दिनुपर्ने माग पनि महामन्त्रीद्वयले अघि सारेका थिए। सभापति देउवाले भने वैशाखमा हुने १५औँ महाधिवेशनपछि आफू स्वतः बाहिरिने बताउँदै त्यसअघिसम्म करिब तीन महिना धैर्य गर्न आग्रह गरेका थिए। चुनाव नलड्ने विषयमा भने उनले कुनै स्पष्ट जवाफ नदिएको स्रोतले जनाएको छ।

संस्थापन पक्षले अन्य केही मागमा लचकता देखाइसकेको र आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहने विषयमा समेत सकारात्मक संकेत दिएको बताइएको छ। महामन्त्री शर्माले अहिले पठाएको नयाँ प्रस्ताव पनि यही वरिपरि सहमति खोज्ने प्रयासका रूपमा आएको छलफलमा सहभागी एक नेताले बताएका छन्। तर सहमति सम्भव हुन्छ वा कारबाही अघि बढ्छ भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा निर्भर रहने देखिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार