Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विशेष महाधिवेशन

देउवालाई गगनको आग्रहः विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन पुनः आग्रह गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा महामन्त्री थापाले विधानसम्मत रूपमा आयोजना गरिएको महाधिवेशनमा सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायत सबै नेताहरूको सहभागिता आवश्यक रहेको बताए।

उनले देशभरका नेता तथा कार्यकर्ताहरू सहभागी हुन इच्छुक रहे पनि स्थानीय नेताहरूसँग डराएर खुला रूपमा आउन नसकेको गुनासो आएको दाबी गरे। विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्न नसकिने उनको भनाइ छ।

‘यो पार्टीकै कार्यक्रम हो, कुनै अलग कार्यक्रम होइन,’ थापाले भने, ‘विधानसम्मत ढंगले भएको यस महाधिवेशनमा सभापतिजी र कार्यबाहक सभापतिजीको सहभागिताका लागि अहिले पनि हामी आग्रह गरिरहेका छौँ। धेरै साथीहरूले मसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्क गरिरहनुभएको छ, आउन चाहनुहुन्छ तर जिल्लाका नेताहरूसँग डराइरहनुभएको छ।’

महामन्त्री थापाले देशमा आशाको सञ्चार गर्न कांग्रेस स्वयं जागेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार