इरानमा सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बनेको छ । आर्थिक सङ्कट र तीव्र मूल्यवृद्धिको विरोधमा सुरु भएको आन्दोलनमाथि दमन भइरहेको भए पनि प्रदर्शन रोकिएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइमका अनुसार हालसम्म कम्तीमा २ सय १७ जनाको ज्यान गएको छ । तेहरानका छ वटा अस्पतालमा मात्रै कम्तीमा २ सय १७ प्रदर्शनकारीको मृत्यु दर्ता भएको जनाइएको छ । तीमध्ये अधिकांशको गोली लागेर मृत्यु भएको बताइएको छ ।
घाइतेहरूको संख्या अत्यधिक रहेको र अस्पतालहरूमा चाप बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
गत डिसेम्बर २८ तारिखदेखि सुरु भएको आन्दोलनपछि सरकारले इन्टरनेट र टेलिफोन सेवा बन्द गरेको छ । सुरक्षा निकायले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनमा सहभागी हुन नदिन चेतावनी दिएका छन् । साथै, कुनै अप्रिय अवस्था आएमा गुनासो नगर्न पनि दबाब दिइएको जनाइएको छ ।
आर्थिक संकट, बेरोजगारी र महँगीका कारण सुरु भएको आन्दोलनले इरानको आन्तरिक अवस्था थप तनावग्रस्त बन्दै गएको छ ।





प्रतिक्रिया दिनुहोस्