Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्णः राष्ट्रपति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल आजको अवस्थासम्म आइपुग्न हाम्रा पूर्वजहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहले छरिएर रहेका स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे । उनले पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र साझा पहिचान स्थापित गरेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले मुलुकको सबल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेमको भावना, छिमेकी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध, धर्म–संस्कृति र परम्पराको संरक्षण, जनकल्याण, न्याय, सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि मार्गदर्शक बन्न सक्ने बताएका छन् ।

उनले इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले राष्ट्र निर्माणको अभियानलाई निरन्तरता दिएको कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपालप्रति गर्व गर्न सक्ने अवस्थामा पुगेको उल्लेख गरे । यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरिएको उनले बताए ।

‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,’ राष्ट्रपति पौडेलले कामना व्यक्त गरेका छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार