NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले आज उद्घाटन सत्रअघि काठमाडौंमा भव्य जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशन आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन हुने तय भएको छ । उद्घाटन समारोह सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालेर महाधिवेशनस्थलमा प्रवेश गराउने तयारी आयोजक समितिले गरेको छ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस निस्कनेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस सुरु गरिने सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । आजै महाधिवेशनको बन्दसत्र पनि प्रारम्भ हुने र महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।
जुलुस निस्कने रुटहरू
रुट नम्बर १
जम्मा हुने स्थान : सुन्धारा
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क हुँदै पुरानो बसपार्क भएर भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर २
जम्मा हुने स्थान : रत्नपार्क
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी क्षेत्र र निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।
यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशनस्थल पुग्नेछ ।
रुट नम्बर ३
जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौंका निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ४
जम्मा हुने स्थान : शंकरदेव क्याम्पस
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता यस रुटको जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस शंकरदेव क्याम्पसबाट पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ५
जम्मा हुने स्थान : कमलपोखरी
काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भई चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।
रुट नम्बर ६
जम्मा हुने स्थान : कुपण्डोल
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुनेछन् ।
यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।
आयोजक समितिका अनुसार जुलुसलाई अनुशासित र व्यवस्थित ढंगले सञ्चालन गर्दै महाधिवेशनलाई भव्य र सफल बनाउने तयारी गरिएको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्