NL न्यूज
काठमाडौं ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलको बयान लिएको छ।
सोमबार साँझ पौने ५ बजे सिग्देल सेनाका उच्च अधिकारीसहित आयोगको कार्यालय पुगेका थिए। करिब एक घण्टा चलेको बयानका क्रममा उनले आयोगले उठाएका सबै प्रश्नमा जवाफ दिएका छन्।
आयोगका एक उच्च स्रोतका अनुसार प्रधानसेनापतिले आन्दोलनका दिन कुन परिस्थितिमा, किन र कसरी सेना परिचालन गर्नुपर्यो भन्ने विषयमा केन्द्रित भएर स्पष्ट र व्यवहारिक उत्तर दिएका थिए। स्रोतले भन्यो, “घटनाको क्रम, निर्णयको आधार र सेनाको भूमिकाबारे विस्तृत रूपमा कुरा भएको छ।”
जेनजी आन्दोलनका दिन सेना परिचालन भए पनि भीड नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप सेनामाथि लाग्दै आएको छ। राष्ट्रपति निवासको सुरक्षा गर्न नसकेको, प्रधानमन्त्रीलाई समयमै उद्दार नगरेको र त्यसपछि सरकारलाई राजीनामाका लागि दबाब दिएको जस्ता गम्भीर आरोप सार्वजनिक रूपमा उठाइएका छन्।
त्यस्तै, जंगी अड्डा नजिकै रहेको सिंहदरबारसमेत सुरक्षित राख्न नसकेको भन्दै विभिन्न राजनीतिक दलले सेनाको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। आयोगले अब सेनाको बयानलाई अन्य सुरक्षा निकाय र राजनीतिक नेतृत्वका भनाइसँग तुलना गरेर निष्कर्षतर्फ जाने छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्