Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

'विशेष महाधिवेशनबाट पार्टी फुट्ने अवस्था आए सबैभन्दा पहिला म अधिवेशनको हलबाट बाहिरिनेछु’ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। आगामी पुस २७ र २८ गते काठमाडौंमा बोलाइएको विशेष महाधिवेशनबाट पार्टी फुट्ने अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशनस्थल छाड्ने उनले बताएका छन्।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चुलिँदै गएको सन्दर्भमा महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले विशेष महाधिवेशनबारे उठाइएका आशंकालाई खारेज गर्दै पार्टी एकता अक्षुण्ण रहने दाबी गरेका छन्।

‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन,’ शर्माले लेखेका छन्, ‘यदि त्यस्तो अवस्था आयो भने सबैभन्दा पहिला म अधिवेशनको हलबाट बाहिरिनेछु।’

यसअघि पत्रकार सम्मेलनमार्फत पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने घोषणा भइसकेको छ। सो महाधिवेशनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सहभागी हुने प्रतिबद्धता जनाइसकेका छन्।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्री शर्मा र थापा पक्षका नेताहरूले भने ‘जेनजी आन्दोलन’पछिको राजनीतिक परिस्थिति र बदलिँदो चुनौतीका कारण विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएका छन्।

विशेष महाधिवेशन आवश्यक पर्नुको कारण स्पष्ट पार्दै शर्माले देशको समग्र परिस्थिति परिवर्तन भइसकेको उल्लेख गरेका छन्। ‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टिकोण, योजना र राजनीतिक संकल्पका लागि विशेष महाधिवेशन जरुरी भएको बताएका छन्।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले चलाएको हस्ताक्षर अभियानमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थन प्राप्त भइसकेको शर्माको दाबी छ। कांग्रेस विधानको धारा १७(२) अनुसार पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था रहेको उनले स्मरण गराएका छन्।

हस्ताक्षर अभियानमा सहभागी नभएका प्रतिनिधिहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था रहेको स्पष्ट पार्दै शर्माले सबैलाई एकताका साथ सहभागी हुन आह्वान गरेका छन्।

विशेष महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कुनै असर नपार्ने पनि उनले बताएका छन्। 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार