NL न्यूज
काठमाडौँ । आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णयपछि देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।
पुस २६ देखि २८ गतेसम्म तय गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम अघि नबढेपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा महाधिवेशनको मिति सार्दै वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो।
तर उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन्। त्यसपछि विवाद थप चर्किएको छ। महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्रै विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन्।
यसअघि कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाका आधारमा विशेष महाधिवेशन अनिवार्य भएको महामन्त्री थापाको दाबी छ। तर संस्थापन पक्षले भने मङ्सिर १५ गते नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशन माग गर्दै बुझाइएका हस्ताक्षर निष्क्रिय भइसकेको तर्क गर्दै आएको छ।
पदाधिकारी बैठकबाट यो विवाद समाधान हुने कि अझ गहिरिने भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्