Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने, जनवरी ५ मा नेपाल आइपुग्ने

काठमाडौं ।  आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल आउने भएको छ। भारत र श्रीलंकामा हुने विश्वकपको ‘ट्रफी टुर’ कार्यक्रमअन्तर्गत ट्रफी आगामी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

क्यानले बुधबार विज्ञप्ति निकाल्दै ट्रफी टुर नेपालमा हुने औपचारिक जानकारी दिएको हो। तर ट्रफी कहाँ–कहाँ राखिने, कार्यक्रमको तालिका र अन्य गतिविधिबारे भने पछि छुट्टै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन्।

आईसीसी पुरुष टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। यस विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ, जसले नेपाली क्रिकेट समर्थकमा थप उत्साह थपेको छ।

नेपालले फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। नेपाल रहेको समूहमा बंगलादेश, इङल्यान्ड, इटाली र वेस्ट इन्डिज छन्। समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका छ।

विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन्। सुपर ८ बाट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल मार्च ८ मा हुनेछ।

ट्रफी नेपाल आउने खबरसँगै विश्वकपको रौनक अब देशभित्रै महसुस हुने अपेक्षा गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार