Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मेलम्ची बाढीको साढे ४ वर्षः क्षतिको अंक ठूलो, राहत सानो

मेलम्ची खोला अहिले शान्त देखिन्छ । तर किनारमा बगर बनेका खेत, जोखिममा उभिएका घर र अस्थायी टहरामा बसेका मानिस देख्दा त्यहाँ पुग्ने जो कसैको मन फेरि एकपटक अशान्त बन्छ । विचलित हुन्छ ।

विक्रमसंवत २०७८ साल असारको बाढीपछि साढे चार वर्ष बितिसक्दा पनि मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रका बाढी प्रभावितले न त पूर्ण राहत पाए, न त सुरक्षित रूपमा पुनःस्थापित हुनसके ।  स्थानीय जनप्रतिनिधि र अध्ययन दुवैको निष्कर्ष एउटै छ—समस्या स्रोतको मात्र होइन, नीति र प्रणालीकै हो ।

2-1767162651.png

क्षतिको अंक ठूलो, राहत सानो 

दुई वर्षअघि प्रकृति रिसोर्सेज सेन्टरले गरेको अध्ययनले मेलम्ची बाढीबाट ५० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको देखाएको छ ।
मेलम्ची नगरपालिकामा ४ सय ३६ मिलियन डलर अर्थात करिव ५८ अर्ब ८६ करोड रुपैयाँ, हेलम्बु गाउँपालिकामा २ सय ४ दशमलव ५६ मिलियन अमेरिकी डलर अर्थात करिव २७ अर्ब ६१ करोड रुपैयाँ क्षति भएको छ ।

अध्ययन प्रतिवेदनकाअनुसार प्रतिघरधुरी औसत ५२ हजार १ सय १३ अमेरिकी डलर अर्थात करिव ७० लाख ३५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्शानी भएको छ । तर प्रभावितका लागि उपलब्ध गराइएको राहत अत्यन्तै न्युन छ । 
3-1767162654.png


५७ अर्बको क्षति, १ अर्बको बजेट

मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान स्थानीय सरकार बजेटको सीमाले बाँधिएको बताउछिन् ।

“मेलम्ची बाढीबाट करिव ५७ अर्ब रुपैयाँ बराबरको क्षति भएको भनिन्छ । तर हाम्रो नगरपालिकाको वार्षिक बजेट १ अर्ब २०/३० करोड मात्रै हुन्छ । यस्तो अवस्थामा जोखिममा परेकालाई सुरक्षित ठाउँमा सार्ने काम स्थानीय सरकारले गर्न सक्दैन ।” उनको भनाई छ । 

प्रधानका अनुसार नगरपालिकाले सामान्य राहत, जीविकोपार्जनसँग जोडिएका कार्यक्रम र केही पुनःस्थापनाका काम त गरेको छ । तर जोखिमयुक्त बस्ती स्थानान्तरण, सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापना संघीय बजेट र विशेष कार्यक्रम बिना सम्भव छैन । 
4-1767162655.png


कानूनले नदेखेको क्षतिः घर उभिएको छ तर बस्न मिल्दैन 

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा भन्छन् —मेलम्ची बाढीमा पीडितलाई न्याय नपुग्नुको मूल कारण कानूनको साँघुरो परिभाषा हो । “हिजो खोला घरभन्दा १० मिटर तल थियो, अहिले १० मिटर माथि छ । घर भत्किएको छैन भनेर कानूनले लाभग्राही मान्दैन,” 
अध्यक्ष लामाकाअनुसार ठूलो मात्रामा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ, मोटरएबल पुल, झोलुंगे पुल, सिँचाइ कुलो र खानेपानीका मुहान नष्ट भएका छन् । तर कृषि जमिनको स्थायी क्षति, जीविकोपार्जनको समाप्ति र भविष्यको जोखिमलाई कानुनले समेटेको छैन, क्षतिपूर्तिको दायरामा पर्दैन ।


विपद्लाई फास्ट–ट्रयाकबाट क्षतिपूर्ति दिने अधिकार स्थानीय सरकारलाई नदिएसम्म पीडितले राहत पाउन नसक्ने उनले बताए ।   
5-1767162657.png


एउटै मापदण्डले मेलम्ची नापिँदैन

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा मेलम्ची बाढीलाई सामान्य विपद्सँग तुलना गरिनु नै प्रथम दृष्टिमा अन्यायपूर्ण भएको टिप्पणी गर्छन् । 

‘कतै एक–दुई घर भत्किन्छन्, कतै पाँच– छ सय घर भत्किन्छन् । तर कार्यविधि एउटै हुन्छ, पाँच लाख पाउने ।’ उनी भन्छन् ।

विपद्को  प्रकृति र हानी नोक्शानीको तथ्यांकअनुसार राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनको तर्क छ । सानो क्षतिलाई स्थानीय सरकारले सम्बोधन गर्न सक्ने भएपनि ठूला क्षतिहरु सम्बोधनका लागि संघ सरकारले राष्ट्रिय प्राथमिकतामा राख्ने, अन्तर्राष्ट्रिय वित्त जुटाउने जस्ता पहल गरिनुपर्ने उनको धारणा छ । 
7-1767162658.png


नीतिले समेट्दैन गैर आर्थिक क्षति 

मेलम्ची बाढीको सबैभन्दा बेवास्ता गरिएको पक्ष भनेको गैर–आर्थिक क्षति हो । प्रकृति रिसोर्सेज सेन्टरले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका १ सय २० घरधुरीमा गरेको अध्ययनअनुसार ८५ प्रतिशत प्रभावितले मनोसामाजिक समस्या भोगिरहेका छन् भने ५८ प्रतिशतमा सांस्कृतिक तथा धार्मिक स्थलको क्षति परेको छ ।

७० प्रतिशतमा डिप्रेसन र ५७ प्रतिशतमा चिन्तासम्बन्धी लक्षण देखिएका छन् । मठ–मन्दिर, पूजा–पर्व र सामुहिक पहिचानसँग जोडिएका अभ्यासहरूमा आएको अवरोधले समुदायको सामाजिक संरचनामै असर पारेको छ । तर यस्ता मनोसामाजिक र सांस्कृतिक क्षतिलाई सम्बोधन गर्ने स्पष्ट नीति, बजेट र संस्थागत जिम्मेवारी देखिँदैन ।

बाढीले घर, खेतीयोग्य जमिन, बाली, पशुपालन र कृषि पूर्वाधारमा गम्भीर क्षति पुर्याएको तथा खेतीयोग्य जमिन बगरमा परिणत हुँदा जीविकोपार्जन नै समाप्त भएको छ । तर विद्यमान राहत संरचनाले यस्तो स्थायी क्षतिलाई गणनामा राख्न सकेको छैन । 

जलवायु परिवर्तन नीति २०१९ ले क्षतिको प्रकार स्पष्ट गर्दैन । विपद् व्यवस्थापन ऐनले घर, मृत्यु र घाइतेलाई प्राथमिकता दिन्छ, तर कृषि जमिन, संस्कृति र मानसिक स्वास्थ्यलाई समेटेको छैन । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कमजोर छ । यही नीतिगत ग्यापका कारण मेलम्ची बाढी साढे चार वर्षसम्म पनि समाधान विहीन बनेको छ ।
8-1767162659.png


सामूहिक हस्तक्षेप आवश्यक 

मेलम्ची बाढी सामान्य विपद् होइन । यो जलवायु परिवर्तनसँग जोडिएको दीर्घकालीन संकट हो । स्थानीय जनप्रतिनिधिहरूको साझा निष्कर्ष छ । विद्यमान कानून संशोधन, ठूलो विपद्का लागि छुट्टै ऐन, बहुवर्षीय बजेट र आर्थिकसँगै मनोसामाजिक तथा सांस्कृतिक क्षतिको सम्बोधन हुनुपर्छ । 

मेलम्ची बाढीपछि मेलम्ची नगरपालिकाले प्रत्येक अंग्रेजी वर्षको पहिलो दिन अर्थात जनवरी १ तारिकका दिन गुफाडाँडामा जलवायु सम्मेलन गरेर सबैको ध्यान आकर्षित गर्ने प्रयास गर्दे आएको छ । तर यस्ता कार्यमा सबै प्रभावित स्थानीय सरकारहरुको सामुहिक ऐक्यवद्धता आवश्यक पर्छ ।

अब पनि सामुहिक पहल नगर्ने हो भने मेलम्चीका पीडितका लागि बाढी इतिहास होइन, स्थायी नियति बन्ने खतरा यथावत नै रहने देखिन्छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार