Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपालको राजनीतिमा पछिल्लो दिनमा हावी ‘सुदन फ्याक्टर’

काठमाडौं । केही समयअघिसम्म सामाजिक अभियन्ता भनेर चिनिने एउटा नाम अहिले राजनीतिक किचलो, सत्ता–समीकरण र भविष्यको गठजोडको केन्द्रमा आइपुगेको छ। तिनी हुन् – सुदन गुरुङ। कोही उनलाई ‘जेनजीको अभियन्ता’ भन्छन्, कोही ‘डिल–मेकर’, त कोही खुला रूपमा ‘विवादित पात्र’। तर यति भने पक्का छ, अहिलेको नेपाली राजनीतिमा सुदन फ्याक्टर बिना कुनै समीकरण पूरा मानिँदैन।


बालेनको पोस्ट, राजनीतिक सन्देश
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुदन गुरुङलाई ‘यो देशले १०० वर्षसम्म नबिर्सने गुन लगाएको व्यक्ति’ भनेपछि सुदनको नाम औपचारिक रूपमा राजनीतिक बहसको केन्द्रमा आयो। यो कुनै साधारण प्रशंसा थिएन। बालेन जस्ता नेताले सार्वजनिक रूपमा ‘लभ यू ब्रदर’ लेख्नु भनेको राजनीतिक संकेत पनि हो।


देश बनाउने कुरा सबैले गर्छन्, तर बनाउने प्रयास गर्ने मान्छे कम हुन्छन् भन्ने बालेनको लाइन वास्तवमा सुदनको भूमिकालाई वैधता दिने भाष्य थियो। यो पोस्टसँगै सुदन अब सामाजिक अभियन्ता मात्र होइन, राजनीतिक सेतुको रूपमा प्रस्तुत भए।
605543024_26000093446281374_8175962393263047945_n-1767078490.jpg
       तस्विर :   सोमबार साँझ कुलमान घिसिङ र रवि लामिछानेबीच सहमति गराएपछि सुदन गुरुङ(बीचमा)

रवि–बालेन–कुलमान मिलाउने कसरत

सुदनको पछिल्लो सक्रियता सीधै सत्ता–समीकरणसँग जोडिएको छ। रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ तीनै जना फरक पृष्ठभूमिका, फरक शैलीका तर एउटै वर्गले आशा गरेका पात्र। यी तीनलाई एउटै टेबलमा बसाल्ने काम सजिलो छैन, तर त्यही काममा सुदन खुलेर लागे।  घिसिङलाई आफ्नै गाडीमा राखेर वार्तास्थल लैजानेदेखि लिएर रविलाई केन्द्रीय समिति बैठक छाडेर उठाउनेसम्मको भूमिका सुदन समूहले खेल्यो । फलस्वरुप सोमबार बेलुका कुलमान र रविबीच एकता भयो । साक्षी बसे बालेन । वार्ता लगभग भत्किसकेको अवस्थामा फेरि सुरु हुनु आफैंमा सुदन फ्याक्टरको प्रभाव हो।

रवि र बालेन मिलाउने नाटक होइन, दबाब
गत बिहीबार कुमार बेनको घरमा भएको भेट अझ रोचक थियो। सुदनले त ढोका नखोल्ने भन्दै सार्वजनिक दबाब सिर्जना गर्ने शैली अपनाए। यो शैली केहीलाई असहज लागे पनि, प्रभावकारी चाहिँ भयो। राजनीतिमा कहिलेकाहीँ नाटक पनि रणनीति हुन्छ, र सुदन त्यसलाई खुलेर प्रयोग गर्छन्।



जेनजीका मसिहा कि स्वयंघोषित प्रतिनिधि?

सुदन जेनजीका सबै समूहका प्रिय छैनन्। कतिपयले उनलाई ‘सेल्फ–प्रोजेक्टेड लिडर’ भन्छन्। तर भूकम्प, कोभिड, आन्दोलनका घाइतेहरू यी सबैमा उनी सक्रिय थिए भन्ने तथ्य नकार्न सकिँदैन।  ‘हामी नेपाली’ संस्थामार्फत उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क बनाए। यही नेटवर्कले उनलाई शक्तिशाली बनायो, तर विवादको केन्द्रमा पनि ल्यायो।

विवादको जरो: फ्री तिब्बत कनेक्सन
सबैभन्दा गम्भीर प्रश्न यहाँ उठ्छ—एक चीन नीति। नेपाल आधिकारिक रूपमा एक चीन नीतिमा अडिग छ। तर सुदन नेतृत्वको ‘हामी नेपाली’ संस्थाले ‘Students for a Free Tibet’ जस्ता संस्थासँग सहकार्य गरेको प्रमाण उनीहरूको आफ्नै वेबसाइटमा भेटिन्छ। यो साधारण कुरा होइन। फ्री तिब्बत आन्दोलन पश्चिमी शक्तिहरूको चीन–विरोधी रणनीतिसँग जोडिएको विषय हो। त्यससँग नजिकिएको आरोपले सुदनलाई केवल विवादित होइन, राष्ट्रिय सुरक्षाको बहससम्म पुर्‍याएको छ।

सामाजिक अभियन्ताबाट सत्ता खेलाडीसम्म
गोरखाको चुमनुब्रीबाट काठमाडौं–पोखरा हुँदै सत्ता बनाउने–ढाल्ने खेलमा प्रवेश गर्नु सानो कुरा होइन। सुदनको यात्रा प्रेरणादायी पनि छ, तर एकैसाथ प्रश्नले भरिएको पनि। उनी परिवर्तनको प्रतिनिधि हुन् कि अदृश्य शक्तिको मोहरा? निस्वार्थ अभियन्ता कि महत्वाकांक्षी डिल–मेकर? उत्तर समयले दिनेछ।

तर आजको नेपाली राजनीतिमा एउटा कुरा स्पष्ट छ, सुदन गुरुङलाई मन पराओस् वा नपराओस्, उनलाई बेवास्ता गर्न सकिँदैन। उनी समाधान पनि हुन सक्छन्, समस्या पनि। पुल पनि हुन सक्छन्, भत्किने कारण पनि। तर अहिलेको सत्ता–समीकरण, जेनजी राजनीति र नयाँ शक्ति निर्माणको केन्द्रमा सुदन फ्याक्टर मजबुत रूपमा उभिएको छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार