Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमालेको समानुपातिकतर्फको बन्द सूची, कहिले नसुध्रिने संकेत

काठमाडौं ।  एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रेलान ? यस्तो प्रश्न आफैंमा असान्दर्भिक भइसक्यो । जेनजीले नसकेका ओली अनेक तिक्डम गरेर ११औँ महाधिवेशनबाट एमालेका अध्यक्ष तेहेरिए । अब सांसदको सूची छान्न पनि एक्लौटी गर्दैछन् । आइतबार बसेको सचिवालय बैठकबाट ईश्वर समूहका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईका कुरा सुन्नै चाहेनन् ।

ओलीकै निकट मानिएका रघुजी पन्तहरुकै सुझाव पनि सुनेन, महामहिम ओलीले ! पुराना अनुहार होइन, नयाँलाई प्राथमिकताको आम माग वेवास्ता गरेका ओलीले कांग्रेस जतिको पनि साहस देखाएनन् । कांग्रेसले त २०६४ सालदेखि २०७९ सालसम्म समानुपातिकमा अवसर पाएकालाई पुन: अवसर नदिने निर्णय नै गरायो तर, ओलीले अवसर पाइरहेकै, जनताबाट तिरस्कृत भइरहेकैलाई मौका दिएका छन् । समानुपातिकको बन्द सूचीको खस-आर्य समूहबाट पहिलो नम्बरमा गुरु बराललाई राखेका छन् ।
चुनाव कहिल्यै नजितेका गुरु बरालले निरन्तर अवसर पाइरहेकै छन् । ११औँ महाधिवेशनमा उपाध्यक्ष पड्काएका मोरङका बराललाई यसअघि राष्ट्रियसभाको निर्वाचनमा अवसर दिइयो । यसअघि तत्कालीन माओवादीसँग सहमति गराएर राष्ट्रपतिसम्म बनाउने योजनामा ओली थिए, अन्तिममा प्रचण्ड कांग्रेससँग जोडिएपछि रामचन्द्र पौडेलले बाजी मारे । अहिले उनै बराल बन्दसूचीको पहिलो नम्बरमा परेका छन् । ओलीकै क्याम्पका उपाध्यक्ष रघुजी पन्तले ईश्वर पोखरेललाई पहिलो नम्बरमा राख्दा एकताको सन्देश जाने सुझाव दिएपनि ओलीले सुनेनन् ।

बरालमात्र होइनन् समानुपातिकका अधिकांश नाम पहिले धेरैपटक अवसर पाइसकेका पात्रमात्र छन् । समानुपातिकमा पर्नेमा पहिले नै समानुपातिकबाट सांसद बनेकी दाङकी शान्ता चौधरी, तेह्रथुमकी विष्णुमाया विक, मन्त्रीसमेत बनिसकेकी र सांसद हुँदै आएकी पद्मा अर्यालले फेरि मौका पाएका छन् । अर्की पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीलाई पनि ओलीको निगाहा भएको छ । पहिले समानुपातिक सांसद भएकी निरु पाल, राष्ट्रियसभा सदस्य भइसकेकी कोमल वली यी र यस्तै पात्र ७० प्रतिशतसम्म समानुपातिक सूचीमा पुन: परेको एमाले नेताहरु बताउँछन् । 

असन्तुष्ट नेताहरुले यस्ता पात्रका कारण पार्टीमा नयाँ अनुहार र योगदानको मूल्यांकन कमजोर बनेको बताउँछन् । १९ सचिवालय सदस्यमध्ये विष्ट र भट्टराई बाहेक १७  जनाले ओलीको होमा हो मिलाएका थिए । उम्मेदवारको सूचीबारे ठोस बहस वा निर्णय नगरी सबै जिम्मा अध्यक्षलाई दिइयो । ओलीले आफ्नै तरिकाबाट समानुपातिकको बन्दसूची पेश गरेका छन् । त्यसैले एमाले अहिले कहिले नसुध्रिने ओली बन्ने गरेका छन् ।
०००

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार