NL न्यूज
न्यूज बजमा आज
रमेश लेखकको बयानपछि ओलीको पालो
जेन–जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै एमाले अध्यक्ष केपी ओलीलाई पत्र लेख्ने भएको छ । आयोगले लेखकलाई पत्र पठाईसकेको छ, उनको बयान सकिए लगत्तै तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि आउन पत्र लेखिने प्रवक्ता विज्ञानराज शर्माले बताएका छन् । तत्कालीन गृहमन्त्री लेखक बयानमा जाने कि नजाने भन्ने विषयमा परामर्श गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको हैसियतमाथि नै प्रश्न उठाउँदै बयान दिन नजाने बताउदै आएका छन् । ०००
प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक रिटमा आज पेशी
प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले पूरक रिट दायर गरेका हुन् । पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेसमार्फत मङ्गलबार सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको थियो । यसअघि कांग्रेसका ८ सांसदहरुले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधि सभा पुनःस्थापना माग्दै सर्वोच्च पुगेका हुन् । कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् । यसअघि नै नेकपा एमालेका ७५ सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । ०००
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीकोे १५औँ महाधिवेशन, राष्ट्रियसभाको निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । ०००
पार्टी कार्यालय अनुगमनमा व्यस्त सरकारी टोली
सरकारले गठन गरेको उच्च स्तरीय राजनीतिक वार्ता समिति आज पनि राजनीतिक दलको पार्टी कार्यालयहरु निरिक्षणमा व्यस्त छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालको टिमले जनमत पार्टी कार्यालयको अनुगमन र निरीक्षणका साथै पार्टी अध्यक्ष सिके राउतसंग छलफल समेत गरेको छ । यस्तै टोली आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालय समेत पुगेको छ । ०००
अब दुई दिनभित्रै राहदानी
राहदानी विभागले अब २ दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको र आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको छ । विभागका अनुसार जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेको नेपाली नियोगबाट आवेदन दिएकालाई राहदानी उपलब्ध गराइने छ । गत मङ्सिर १५ गतेसम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध हुने विभागले जनाएको छ । ०००
धुलिखेल–खावा सडकको काम धमाधम
काठमाडौं । लामो समयदेखि प्रयोगकर्ताले सास्ती पाउँदै आएको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो । १४ महिनाको ठेक्का समय रहेकोमा समय भन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । ०००
उज्यालो नेपाल पार्टी कार्यालयको नाम ‘उज्यालो घर’
उज्यालो नेपाल पार्टीको त्रिपुरेश्वरमा अवस्थित केन्द्रीय कार्यलय बिहीबार दिउँसो उद्घाटन गरिने भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो । पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । यस्तै उज्यालो नेपाल पार्टीले जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग आज चुनावी एकता गर्दैछ । ०००
सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड
केही दिनदेखि सुन र चाँदीको भाउले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय पुगेको छ । हिजो सुनको मुल्य ५ हजार ५ सय रुपैयाँ बढेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको आजको मुल्य अहिले सम्मकै उच्च हो । ०००
१६ दिनका लागि २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १६ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । ०००
टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ५ जनाको मृत्यू
टर्कीको राजधानी अंकारा नजिकै भएको विमान दुर्घटनामा परि लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित चार जना उच्च सैनिक अधिकारीहरूको मृत्यू भएको छ । फाल्कन ५० प्रकारको व्यावसायिक जेट विमान अंकाराको एसिनबोगा विमानस्थलबाट त्रिपोलीका लागि उडेको थियो । टर्कीका सुरक्षा फौजले अंकाराको हायमाना जिल्लास्थित केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए । प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबीका कारण दुर्घटना भएको देखिएको टर्की अधिकारीहरूले बताएका छन् । ०००
सम्बन्धित समाचार
बालेनले ओलीलाई हराउँछन्, प्रधानमन्त्री बन्ने सम्भावना छ : वासुदेव घिमिरे | Lead Talk
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश





प्रतिक्रिया दिनुहोस्