Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि–बालेनबीच ५ घण्टा लामो भेट, निस्किए एउटै गाडीमा

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान १ बजेसम्म चलेको थियो ।

छलफलमा रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

स्रोतका अनुसार भेटवार्ताको सुरुवात भावनात्मक कुराकानीबाट भएको थियो । केही दिनअघि मात्रै बाबु गुमाएका मेयर शाह र करिब २ सय ६० दिन कारागार बसेर हालै रिहा भएका सभापति लामिछानेबीच व्यक्तिगत अनुभव र पीडाका विषयमा खुलेर संवाद भएको बताइएको छ । त्यसपछि देशको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिलाई कसरी संस्थागत गर्ने र मुलुकको परिवर्तनका लागि सँगै अघि बढ्ने विषयमा गम्भीर छलफल भएको स्रोतको दाबी छ ।

छलफलमा आगामी निर्वाचनमा मात्रै नभई दीर्घकालीन रूपमा सहकार्य गर्दै वैकल्पिक राजनीतिक धारलाई मजबुत बनाउने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ । यद्यपि, औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन । दुवै पक्षले संवादलाई सकारात्मक रूपमा निरन्तरता दिने सहमति जनाएका छन् ।

बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपाका केन्द्रीय सदस्य असिम शाहले यो भेट ‘लामो प्रतीक्षापछिको’ भएको बताए । “सबैको आशा र अपेक्षाअनुसार देश बनाउन मिलेर जानुपर्छ भन्ने भावनासहित वार्ता भयो,” उनले भने, “दाजु–भाइ एक ठाउँमा बसेर सौहार्दपूर्ण संवाद भएको छ।”

वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा निवासबाट बाहिरिएका थिए । राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको यो भेटले आगामी दिनमा सम्भावित नयाँ राजनीतिक सहकार्यको संकेत गरेको विश्लेषण सुरु भएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार