Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचन २०८२

झापा–५: ओलीको राजनीति जोगिन्छ वा बालेनको भविष्य ?

झापा । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि साधारण निर्वाचन क्षेत्र होइन । यो उनको राजनीतिक प्रयोगशाला, शक्ति प्रदर्शनको मैदान र निरन्तर पुनरागमनको किल्ला हो । २०४८ यताका सात निर्वाचनमध्ये छ पटक यही क्षेत्रबाट संसद् पुगेका ओलीका लागि झापा–५ ‘सेफ जोन’ जस्तै मानिँदै आएको छ । २०६४ मा माओवादी लहरले एक पटक चिप्ल्याएको यो किल्ला त्यसयता कसैले भत्काउन सकेको छैन ।

तर अब तस्वीर बदलिन सक्ने चर्चा सुरु भएको छ । यदि ओलीले २१ फागुनको निर्वाचनमा फेरि झापा–५ नै रोजे भने, उनको अगाडि उभिन सक्छन्—काठमाडौं महानगरका मेयर, रास्वपाका ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सारिएका बालेन शाह । यो भिडन्त चुनाव मात्र होइन, दुई फरक राजनीतिक युगबीचको टकराव हुनेछ ।

एकातिर—तीन दशकदेखि सत्ता, संसद् र राज्य संयन्त्रमा जमेको ओलीको विरासत ।
अर्कोतिर—स्थापनाविरुद्धको विद्रोही छवि बोकेका, जनआक्रोशका प्रतीक बालेन ।

तथ्यांकमा हेरौ झापाको ग्राउण्ड रियालिटी
सुरु गरौ २०७४ सालको निर्वाचन परिणामबाट

२०७४ मा झापा–५ मा १ लाख ३७ हजार मतदाता थिए । त्यसमध्ये ओलीले ५७ हजार १३९ मत पाए । कांग्रेसका डा. खगेन्द्र अधिकारी २८ हजारमै सीमित भए । मतान्तर—२८ हजार ८४२ । यो सामान्य जित होइन, सन्देशसहितको दबदबा थियो ।
२०७९ मा पाँच दलीय गठबन्धन बनेर ओलीलाई घेराबन्दी गर्ने प्रयास भयो । कांग्रेस, माओवादी, समाजवादी—सबै एक ठाउँमा उभिए । दमकमा राप्रपाले मेयर जित्दा ओली कमजोर हुने अड्कल काटियो । ओलीले त्यही राप्रपासँग हात मिलाए र गठबन्धनलाई लोकप्रिय मतसहित घुँडा टेकाए ।
२०७९ मा ओलीले ५२ हजार ३१९ मत ल्याए । कांग्रेस २३ हजारमै अड्कियो । झापा–५ मा ओलीलाई हराउने अभियान लिएर पुगेका लेखक–कार्यकर्ता युग पाठक ३५६ मतमा सीमित भए ।

स्थानीय तहको चित्र : एमाले अझै बलियो
२०७९ को स्थानीय तह निर्वाचनमा झापा–५ अन्तर्गतका २९ वडामध्ये एमालेले १८ वडा जित्यो । वडाध्यक्षको कुल मतमा एमालेले ४१ हजार ६१९ मत ल्यायो । कांग्रेस २२ हजारमै झर्‍यो । माओवादी १० हजार कटाउन सकेन ।
दमकमा राप्रपाले मेयर जिते पनि एमालेले सात वडा आफ्नो नियन्त्रणमा राख्यो । गौरादहमा एमालेकै अध्यक्ष–उपाध्यक्ष । कमल र गौरीगञ्जको नेतृत्वमा कांग्रेस भए पनि एमाले दोस्रो शक्ति बनेर उभिएको छ । यो संरचना बाहिरबाट आएर एकैचोटि भत्किन सजिलो छैन ।

बालेनको प्रवेश : साहस कि राजनीतिक जोखिम ?
बालेनले झापा–५ बाट उठ्ने संकेत दिएका छन् । दमकमा डेरा खोजिएको छ । स्थानीय अभियन्तालाई ‘तयारी थाल्नुस्’ भनिएको छ । ४ माघमा मेयरबाट राजीनामा दिएर चुनावमा होमिने चर्चा छ ।
के काठमाडौंको लोकप्रियता झापाले लालछाप लगाउला ?
के ‘सेलिब्रेटी मेयर’को छवि ‘स्थानीय नेता’को बन्न सक्छ ?

स्थानीय मतदाता भावुक छन्, तर भावनासँगै स्मृति पनि बोकेका छन् । २०४८ देखि विकास, पहुँच र सम्बन्ध जोडिएको नेतासँग तुलना गर्दा बालेन यहाँ ‘टुरिस्ट’ देखिन सक्छन् । यही कारण स्थानीयहरू खुलेर भन्छन्—यो काठमाडौं होइन, झापा हो ।

राप्रपा निर्णायक
पक्कै पनि राप्रपा र एमालेबीच गठबन्धन भएमा बालेनलाई एमालेको मत मात्र होइन राप्रपाकै मत पनि खोस्नुपर्छ । तर यदि राप्रपा र बालेनबीच सहमति भएमा भने बालेनलाई केही हदसम्म सहज हुने देखिन्छ । तर झापा ५ मा राप्रपा निर्णायक र अन्य निर्वाचन क्षेत्रमा एमाले भएकाले राप्रपाले एमालेसँग तालमेल गर्ने सम्भावना छ ।

जनमत के भन्छ ?
तीन दशकदेखि एउटै अनुहार देख्दा वाक्क दिक्क भएका मतदाता छन् । जेन–जीको असन्तुष्टि छ । परिवर्तनको चाहना छ । तर त्यो चाहना संगठित मतमा बदल्न सक्ने क्षमता बालेनसँग छ कि छैन, यही चुनावको केन्द्रीय प्रश्न हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार