Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रिय सभा निर्वाचनः

कुन प्रदेशमा कुन दलको कति शक्ति ?

काठमाडौं ।

फागुन २० गते कार्यकाल सकिँदै गरेका राष्ट्रिय सभा सदस्यहरूको रिक्त स्थान पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। यसपटक कुल १९ सदस्य पदमुक्त हुँदैछन्। तीमध्ये १८ पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने मनोनीत सदस्य वामदेव गौतमको स्थानमा सरकारबाट नयाँ सिफारिस हुनेछ। कार्यकाल सकिन लागेका सदस्यहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका एक–एक जना छन्। संविधान अनुसार राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन्। जनगणना २०७८ को आधारमा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकेको छ। यही आधारमा प्रदेशगत दलको शक्ति स्पष्ट देखिन थालेको छ।

हेरौँ प्रदेशगत मतभारको अवस्था
१. कोशी प्रदेश

कोशीमा एमाले सबैभन्दा बलियो देखिन्छ। एमालेको मतभार ४,२१० छ भने कांग्रेस ३,७०३ मा सीमित छ। माओवादीको १,२९७ मतभार छ। राप्रपा र एकीकृत समाजवादीको मतभार ३ सयदेखि ४ सयको हाराहारीमा रहेकाले निर्णायक भूमिकामा देखिन्छन्। माओवादी र समाजवादीबीच  एकता भएपछि मतभार लगभग १५ सयको हाराहारी हुनेछ ।
कुल मतभारः १०,१३५

२. मधेश प्रदेश

मधेशमा कांग्रेस अग्रस्थानमा छ। कांग्रेसको मतभार ३,१०४ छ। जनता समाजवादी पार्टी १,८१७ सहित दोस्रो र एमाले २,३०२ सहित तेस्रो स्थानमा छ। लोसपा, जनमत र माओवादी हालको नेकपाको मतभार सन्तुलित भएकाले यहाँ गठबन्धन निर्णायक हुनेछ।
कुल मतभारः १०,८३९

३. बागमती प्रदेश

बागमतीमा कांग्रेस पुनः अगाडि छ। कांग्रेसको मतभार ४,०१३, एमालेको २,५९० र माओवादी हाल नेकपाको २,१९६ छ। त्रिकोणीय प्रतिस्पर्धा देखिएको यो प्रदेशमा एकीकृत समाजवादी र राप्रपाको भूमिका पनि महत्त्वपूर्ण रहनेछ।
कुल मतभारः १०,३५२

४. गण्डकी प्रदेश

गण्डकीमा कांग्रेस (२,७०४) र एमाले (२,४५८) बीच कडा प्रतिस्पर्धा छ। माओवादी हाल नेकपा ९४१ मतभारसहित तेस्रोमा छ। साना दल र स्वतन्त्र मत निर्णायक बन्न सक्छन्।
कुल मतभारः ६,४१०

५. लुम्बिनी प्रदेश

लुम्बिनीमा कांग्रेस ३,१७९ मतभारसहित अगाडि छ। एमाले २,८१० मा नजिक देखिन्छ। माओवादी हाल नेकपा १,२५६ मा तेस्रो स्थानमा छ। जसपा, लोसपा र राप्रपाको मतभार सन्तुलित भएकाले यहाँ पनि गठबन्धनको भूमिका महत्वपूर्ण हुनेछ।
कुल मतभारः ८,७५३

६. कर्णाली प्रदेश

कर्णालीमा कांग्रेस (१,८२५) र माओवादी हाल नेकपा (१,६७३) लगभग बराबरी अवस्थामा छन्। एमालेको १,१६१ मतभारले यहाँ सत्ता समीकरण निर्णायक हुने संकेत गर्छ।
कुल मतभारः ५,१२२

७. सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा कांग्रेस २,६२२ मतभारसहित स्पष्ट रूपमा अगाडि छ। एमाले १,४९९ र माओवादी हाल नेकपा १,०५८ मा छन्।
कुल मतभारः ६,१५३

मुख्य प्रतिस्पर्धा कसबीच?

प्रदेशसभा र स्थानीय तह दुवैमा मतदाता संख्या धेरै भएका कारण नेपाली कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा रहने देखिन्छ। माओवादी केन्द्र हाल नेकपा तेस्रो शक्तिका रूपमा देखिए पनि अधिकांश प्रदेशमा सत्ता समीकरणबिना निर्णायक बन्न कठिन छ।

भदौ २३ को आन्दोलनबाट उदाएका ‘जेन–जी’ समूहका अगुवाहरू यस निर्वाचनमार्फत राष्ट्रिय सभामा प्रवेश गर्ने सम्भावना भने न्यून देखिन्छ। यसको मुख्य कारण संविधानको धारा ८७(१)(ख) हो, जसअनुसार राष्ट्रिय सभा सदस्यका लागि ३५ वर्ष उमेर पूरा हुनुपर्छ।
संविधान संशोधन गरेर जेन–जी पुस्तालाई राष्ट्रिय सभामा प्रवेश गराउने सम्भावना सैद्धान्तिक रूपमा असम्भव होइन। तर हाल प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले यस्तो संशोधन तत्काल अघि बढ्ने सम्भावना न्यून देखिन्छ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार