Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : सुदूरपश्चिमदेखि गण्डकीसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार माघ १३ गते मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुने सम्भावना छ। यी प्रदेशका पहाडी र तराई भूभागमा भने हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातितिर यो प्रणाली थप पूर्वतर्फ सर्दै जाने र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम खालको हिमपात वा वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।

यस्तै, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षाको हकमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने तराई भूभागमा हल्का वर्षा हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना पनि मौसमविदहरूले औँल्याएका छन्।

मौसमविद् अधिकारीका अनुसार काठमाडौं उपत्यकामा बुधबार हल्का वर्षा हुने सम्भावना छ। ‘बुधबार बादल थपिने र दिउँसोतिर काठमाडौंमा सामान्य किसिमको पानी पर्ने देखिन्छ,’ उनले भने।

काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा हिमपातको सम्भावना भने कम रहेको छ। तर, काठमाडौंभन्दा माथिल्ला भूभाग तथा कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने उनले जानकारी दिए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार