Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महिला टी–२० विश्वकप ग्लोबल छनोट : समूह चरणबाटै बाहिरियो नेपाल

स्कटल्यान्डसँग ७२ रनले पराजित

काठमाडौं ।  नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्समा प्रवेश गर्ने सम्भावना समाप्त भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले बलिङमा शानदार सुरुवात गरेको थियो। पावरप्लेमै ३ विकेट लिएर स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्‍याए पनि फिनिसिङमा कमजोर देखियो। प्रियानाज चटर्जीले ४५ रनको अविजित पारी खेलिन्। अलिसा लिस्टर २२, सराह ब्राइस १८ र मेगान मेकल १७ रन बनाए।

नेपालका लागि मनीषा उपाध्याय सबैभन्दा प्रभावशाली बलर रहिन्। उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन्। रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट हात पारे।

नेपालले निर्धारित १४१ रनको लक्ष्य पछ्याउँदै १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएर इनिङ समाप्त गर्‍यो। कप्तान इन्दु बर्मा चोटका कारण सातौं ओभरमा मैदान छाड्न बाध्य भइन् र पछि फर्किन सकिनन्।

नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा केवल जिम्बाबेलाई पराजित गरेको थियो। एक मात्र जितका साथ नेपाल २ अंकमा सीमित रह्यो।

आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन्।

सुपर सिक्सका लागि ६ वटै टोली पनि टुङ्गो भएको छ। समूह ‘ए’ मा पपुवा न्यू गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ। समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका हुन्।

सुपर सिक्सबाट शीर्ष चार टोली आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार