Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमै सीमित भयो। यससँगै नेपालले सुपर सिक्सको सम्भावना जोगाइराख्न १४१ रन बनाउनु पर्नेछ।

नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो। पावरप्लेभित्रै ३ विकेट लिँदै स्कटल्यान्डलाई ७९–६ को नाजुक अवस्थामा पुर्‍याएको नेपाल फिनिसिङमा भने प्रभावकारी हुन सकेन।

मध्य र अन्तिम ओभरमा स्कटल्यान्डका ब्याटरले पुनरागमन गर्दै सम्मानजनक स्कोर खडा गरे। स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण पारी खेलिन्। अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन जोडिन्।

नेपालका लागि मनीषा उपाध्याय सबैभन्दा प्रभावशाली बलर रहिन् । उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट हात पारिन् ।

सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। अब ब्याटिङमा नेपाली टोलीको प्रदर्शनले प्रतियोगितामा भविष्य तय गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार