Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पश्चिमी वायुको प्रभाव: आज अपराह्नदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज अपराह्नदेखि देशको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मुख्यतया पश्चिमी भू–भागमा मौसम बदली भई मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसमविद् डेभिट ढकालले आज दिउँसोदेखि भोलिसम्म पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहितको वर्षा पनि हुन सक्नेछ।

मौसममा आएको परिवर्तनले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार