Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टिप्पणी

काठमाडाैं ४ छोडेर गगन थापा सर्लाही किन झरे ?

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापा बलियो पकड रहँदा रहँदै काठमाडौं क्षेत्र नम्बर ४ छाडेर यसपटक मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । सभापति भएकै चुनावी वर्षमा गगनले यसपटक सर्लाही रोज्नुको कारण के होला भन्दै प्रश्न गरेका छन् । २०७० सालको संविधानसभा चुनावदेखि दुई वटा आम चुनाव २०७४ र २०७९ मा गगनले लगातार काठमाडौं चारबाट चुनाव जितेका थिए । बरु, २०७४ र २०७९ मा धरमर अवस्था थियो । यसपटक भावि प्रधानमन्त्रीका रुपमा देखिएका गगनको काठमाडौं क्षेत्र स्योर एण्ड सट जस्तै थियो किनभने उनी उठ्दैछन् भनेर एमालेसहित अन्य दलले को उम्मेदवार बनाउने निर्णय नै गर्न सकेको थिएन । सबैलाई चक्मा दिंदै उनले सर्लाही रोजिदिए ।

किन त ?
थापा निकट नेताहरुका अनुसार यसका केही कारणहरु छन् । पहिलो पुरानो विरासत सम्झाउने, दोस्रो कमजोर विरासतलाई फिर्ता गराउने, तेस्रो कांग्रेसको राजनीतिमा मधेश प्राथमिकतामा छ भन्ने सन्देश दिन र चौथो मधेशबाट जितेर प्रधानमन्त्री बन्ने सपना । यी मुख्य कारण हुन् । यसको सारसंक्षेप एउटै हो, त्यो भनेको मधेशमा कांग्रेसलाई पुनर्जिवन दिनु ।

इतिहासमा कांग्रेसको मधेश पकड
कांग्रेसले २००७ सालको क्रान्ति सुरुगर्यो । सीमापारी राणाविरोधी गतिविधि बढाएको कांग्रेसलाई मधेशबासीले साथ दिए । मधेशबाटै मुक्ति सेनाले राणाविरुद्ध धावा बोल्यो । मधेशका जमिन्दारदेखि धनीवर्गले कांग्रेसलाई सघाए । त्यसैको परिणामस्वरुप कांग्रेसले पहिलो आमचुनाव २०१५ सालमा ८ जिल्लाबाट १६ चुनावी क्षेत्रमध्ये १२ स्थानमा जित हात पार्यो । २०३६ सालको जनमत संग्रहमा पनि सिराहाबाट मात्र कांग्रेसको अगुवाइमा ९० हजार मत बहुदलको पक्षमा पर्यो, जबकी निर्दलको पक्षमा ५० हजारमात्र भोट आएको थियो । यसबाहेक सर्लाही र रौतहटमा पनि बहुदलले जितेको थियो । अरु जिल्लामा पनि निर्दलभन्दा बहुदलकै पक्षमा मत देखिए ।

मधेशबाट कांग्रेसमा धेरै नेताहरु बने । महेन्द्रनारायण निधि महामन्त्रीसम्म बने । गजेन्द्रनारायण सिंह, महन्थ ठाकुर, शरद्सिंह भण्डारी, जेपी गुप्ता जस्ता धेरै नेताहरु कांग्रेस पृष्ठभूमिकै हुन् । कांग्रेसले आफ्नो माग, मुद्दा बोक्न छाडेपछि उनीहरु विस्तारै अरु दल खोल्दै लाखापाखा लागे । परिणाम स्वरुप मधेशी दलहरु जन्मिए । पहिलो र दोस्रो संविधानसभामा कांग्रेस मधेशमा कमजोर बन्यो । २०७४ देखि २०७९ सम्मका चुनावमा पनि कांग्रेसलाई कम्युनिष्ट पार्टीहरुले धक्का दिए । कांग्रेसको जग बनेको मधेशमा बडाँरिदै जाँदा राष्ट्रिय राजनीतिमा पनि कांग्रेस बलियो बन्न सकेन । हुनत कांग्रेसले नै नेपालकै पहिलो राष्ट्रपति मधेशबाट रामवरण यादवलाई बनायो । तर, पार्टीभित्र मौका नदिएको र मधेशीको अधिकारका लागि वकालत नगरेको असन्तुष्टि तीव्र बन्यो ।

यसकारण गगन ओर्लिए मधेश
अहिले इतिहासको साख जोगाउन गगन मधेश ओर्लिएका छन् । तर, उनकालागि त्यति सहज नहुन सक्छ । उनीसँग प्रतिष्पर्धामा छन्, रास्वपा प्रवेश गरेका पूर्वकांग्रेस अमरेश सिंह । उनी स्थानीयको हवाला दिंदै मैदानमा छन् । रास्वपाले मधेशी मूलका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । यो सेन्टिमेन्ट तोड्न गगन मधेश झरेका छन् । मधेश मिलाउन पुरानादेखि नयाँ उम्मेदवारलाई मधेशमा टिकट दिएका छन् । ३६ लाखभन्दा बढी मतदाता रहेको मधेश प्रदेशमा ३२ चुनावी क्षेत्र रहेका छन् । यो क्षेत्रमा जसले पकड बनाउन सक्यो, उसैले राष्ट्रिय राजनीतिमा ढुक्कको प्रवेश पाउन सक्छ । कांग्रेस पहाडमाभन्दा मधेशमा बलियो थियो । अब विरासत फर्काउन सक्यो भने कांग्रेस बौरिनसक्ने विश्लेषकहरु बताउँछन् । त्यही रणनीति गगनले अँगालेका छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार