NL न्यूज
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंकको शाखा लुटपाट घटनामा बैंक रहेको घरका धनीकै संलग्नता रहेको खुलेको छ।
बैंक लुटपाटपछि फरार रहेका घरधनी ४४ वर्षीय छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। यस घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा–१० का ४९ वर्षीय भागवत सिंह, सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, घरधनी छविलाल स्याङ्तान र एक १६ वर्षीय किशोर रहेका छन्।
प्रहरीले लुटिएको रकममध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ। साथै घटनामा प्रयोग भएका २ थान खुकुरी, नक्कली प्लास्टिकको पेस्तोल, टेप, ४ थान नकाब र एक थान पञ्जा समेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घरधनी स्याङ्तान र चतुरमान बज्युले गत असोजदेखि नै बैंक लुटपाटको योजना बनाएको खुलेको छ।
घटना पुस २९ गते साँझ करिब साढे ७ बजे भएको थियो। लुटेराहरूले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र कर्मचारीलाई नियन्त्रणमा लिएर खुकुरी प्रहारसमेत गरी घाइते बनाएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोलीले बैंकका कर्मचारी र गार्डलाई हातखुट्टा बाँधिएको तथा मुखमा टेप लगाइएको अवस्थामा उद्धार गरेको थियो।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो। खोजतलासका क्रममा घटनास्थलदेखि करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंहलाई नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानकै क्रममा जंगलका विभिन्न स्थानमा लुकाएर राखिएको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ, पुस ३० गते सुकाचुरीबाट पक्राउ परेका चार जनाको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ, तथा उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएका कपडा, नकाब र अन्य सामग्रीसमेत बरामद गर्दै थप अनुसन्धान जारी राखेको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्