Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

६ महिनामा राजश्व संकलन लक्ष्यभन्दा १ खर्ब २९ अर्ब कम

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयकाअनुसार  यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिव १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।
 
अर्थमन्त्रालयकाअनुसार पुस महिनामात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ ।

त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थमन्त्रालयले उपलव्ध गराएको विवरणमा उल्लेख छ । 
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो । उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा पुस २९ गते (मसान्त) सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो ।

त्यस वर्ष पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजश्व संकलन अघिल्लो वर्षको सोही अवधिभन्दा केही सुधार देखिए पनि समग्र रूपमा पुससम्मको लक्ष्य प्राप्ति भने अझै चुनौतीपूर्ण देखिएको छ । 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार