काठमाडौं । थारु समुदायले नयाँ वर्ष, सामाजिक पुनरावलोकन र स्वतन्त्रताको प्रतीकका रूपमा आज माघी पर्व धुमधामका साथ मनाउँदै छन् ।
माघीको अवसरमा थारु बस्तीहरूमा आज बिहान नदी, ताल वा खोल्सामा स्नान गरी पूजा गर्ने र ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने परम्परा छ ।
विभिन्न स्थानमा माघी महोत्सव आयोजना गरिएका छन् । महोत्सवमा झुम्रा, झर्रा, लाठी, मयूर, मघौटा नाच, सांस्कृतिक झाँकी तथा थारु भेषभूषाको प्रदर्शन गरिएको छ । माघी महोत्सवमा ढिक्री, भक्का, घोँगी, माछालगायत मौलिक परिकारले विशेष आकर्षण थपेका छन् ।
माघी पर्व सामाजिक संरचनासँग पनि गहिरो रूपमा जोडिएको छ । यस अवसरमा घरपरिवार र गाउँस्तरमा विगतको समीक्षा र आगामी वर्षको योजना बनाइन्छ । इतिहासमा माघी थारु समुदायका लागि पीडा र संघर्षसँग पनि जोडिएको पर्व हो । यही समयमा कमैया र कमलरी प्रथासम्बन्धी कठोर निर्णय हुने गर्थे । कानुनी रूपमा यी प्रथा अन्त्य भए पनि मुक्त कमैया र कमलरी समुदायले अझै सामाजिक तथा आर्थिक चुनौती भोगिरहेको थारु अगुवाहरू बताउँछन् ।
यसैबीच मगर र छन्त्याल समुदायमा पनि माघे सङ्क्रान्ति पर्वको रौनक छाएको छ । मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्त्वका साथ मनाउने गर्छन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई आफ्नो सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
यो पर्व माइती र कुटुम्बसँग भेटघाट, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीहरूमा माघे सङ्क्रान्तिका अवसरमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य प्रस्तुत गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन छ ।





प्रतिक्रिया दिनुहोस्