Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

माघे सङ्क्रान्तिले बन्धुत्व र सहिष्णुता बढाउने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले बराहक्षेत्र, देवघाट, रिडी क्षेत्रलगायत देशका विभिन्न पवित्र नदी र त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्पराले नेपाली संस्कृतिको मौलिकता झल्काउने पनि उल्लेख गरेका छन् । यस्ता पर्वहरूले नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा उनले माघे सङ्क्रान्ति एवम् माघी पर्वले संस्कृति संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

माघे वा मकर सङ्क्रान्ति पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै परम्परा र संस्कृतिअनुसार हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ । यस अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार