Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपालमा शंकास्पद वित्तीय कारोबार बढ्यो

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआइयू)ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार शंकास्पद वित्तीय कारोबार र गतिविधि अघिल्लो वर्षको तुलनामा ३०.३५ प्रतिशतले वृद्धि भएको हो।

प्रतिवेदनमा नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा रहेकै अवस्थामा शंकास्पद कारोबार बढ्नु सकारात्मक संकेत नभएको उल्लेख गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ३ सय ३८ वटा शंकास्पद कारोबार रिपोर्ट प्राप्त भएकामा समीक्षा वर्षमा यो संख्या बढेर ९ हजार ५ सय ६५ पुगेको छ।

रकमका आधारमा पनि शंकास्पद कारोबारको परिमाण ८२.७५ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो आवमा २३ अर्ब २६ करोड २२ लाख रुपैयाँबराबरको कारोबार शंकास्पद ठहरिएकोमा गत आवमा यो रकम ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको छ।

एफआइयूको ‘गो–एएमएल’ प्रणालीमार्फत प्राप्त रिपोर्टमध्ये ९ सय ४५ वटा वित्तीय सूचना अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी शंकास्पद कारोबार वाणिज्य बैंकहरूबाट आएको छ। वाणिज्य बैंकबाट मात्र ३८ अर्ब ८८ करोड रुपैयाँबराबरका ७ हजार ३ सय ३ वटा सूचना प्राप्त भएका छन्। विकास बैंक, सेयर ब्रोकर, वित्त कम्पनी, भुक्तानी सेवा प्रदायक, बिमा, रेमिट्यान्स, सहकारी, क्यासिनो, हायर पर्चेज र लघुवित्त संस्थाबाट पनि शंकास्पद कारोबारको सूचना प्राप्त भएको छ।

वार्षिक प्रतिवेदनले सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी गतिविधि तथा आमविनाशका हातहतियारसम्बन्धी वित्तीय लगानी रोकथामका क्षेत्रमा भएका नीतिगत र सञ्चालनगत प्रगतिलाई समेत समेटेको छ। यस अवधिमा सूचनाको सुरक्षा, गोपनीयता, शंकास्पद तथा सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्नुका साथै विभिन्न सरोकारवाला निकायका लागि क्षमता विकास र सचेतना कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ।

अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि प्रगति भएको जनाउँदै प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा विदेशी वित्तीय जानकारी इकाइसँग ६४ वटा सूचना आदानप्रदान गरिएको जनाएको छ। आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण र अन्तरनिकाय तथा अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकतामा राख्ने इकाईको कार्यदिशा रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।

Sankaspad-Karobar-1768369570.jpg

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार