Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एसबीआई बैंक लुटपाट: ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँमध्ये १ करोड ८० लाख १० हजार ५०० बरामद

सिन्धुली । सिन्धुलीको घ्याङ्लेखमा एसबीआई बैंक हायुटार शाखाबाट मंगलबार राति लुटपाट भएको तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटेराहरू भाग्ने क्रममा स्थानीयको होहल्लापछि केही रकम भएको बोरा छाडेर फरार भएका थिए। त्यसपछि खोजतलास गर्दा घटनास्थल वरपरको २–३ किलोमिटर क्षेत्रभित्र एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ फेला परेको हो।

प्रहरीका अनुसार पाँच–छ जनाको समूहले बैंकबाट कुल ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए।

मंगलबार राति करिब ८:४० बजे लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि अन्य कर्मचारीलाई समेत नियन्त्रणमा लिएर नगद लुटपाट गरिएको प्रहरीले जनाएको छ।

लुटमा प्रयोग भएको काभ्रेको बनेपाबाट रिजर्भ गरिएको विएडी ०३९८ नम्बरको टाटा सुमो जीप र त्यसका चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनामा संलग्न लुटेराहरूको खोजी तथा विस्तृत अनुसन्धान कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार