Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ऋणपत्रमा केन्द्रित राष्ट्र बैंक , आज फेरि २० अर्बको ऋणपत्र जारी

काठमाडौं । केही समयअघिसम्म निक्षेप संकलन उपकरण र रिभर्स रिपोमार्फत बजारको तरलता व्यवस्थापन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो समय ऋणपत्र (बन्ड) जारी गर्न केन्द्रित हुँदै गएको छ।

चालु आर्थिक वर्षमा पहिलो पटक १४ पुस २०८२ मा राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको थियो। त्यसयता निरन्तर ऋणपत्र निष्कासन गरिरहेको राष्ट्र बैंकले मंगलबार आठौँ पटक ऋणपत्र जारी गर्न लागेको हो।

सोमबार २५ अर्ब रुपैयाँको बन्ड जारी गरेको राष्ट्र बैंकले आज (मंगलबार) थप २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गरेको छ। अनलाइनमार्फत आवेदन दिन सकिने यस ऋणपत्र आजै जारी गरिने बैंकले सूचनामार्फत जनाएको छ।

हाल उक्त ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रकम रद्द गरिनेछ। साथै, त्यस्ता संस्थालाई २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले पहिलो पटक २०५३ सालमा ‘नेपाल राष्ट्र बैंक बन्ड २०५३’ जारी गरेको थियो। विगतमा ऋणपत्रलाई खासै प्राथमिकतामा नराखेको राष्ट्र बैंकले पछिल्लो समय भने तरलता व्यवस्थापनका लागि ऋणपत्रलाई पुनः प्रमुख उपकरणका रूपमा प्रयोग गर्न थालेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार