NL न्यूज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार तिर्नुपर्ने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै इरानसँग व्यापार गर्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क लगाइने र यो व्यवस्था तत्काल लागू हुने बताएका हुन्। “इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार बुझाउनुपर्नेछ,” ट्रम्पले लेखेका छन्।
यसबारे ह्वाइट हाउसले भने अहिलेसम्म कुनै औपचारिक विज्ञप्ति जारी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकाले इरानमाथि वर्षौंदेखि कडा आर्थिक तथा कूटनीतिक प्रतिबन्ध लगाउँदै आएको छ। विश्व बैंकका पछिल्ला तथ्यांकअनुसार इरानी निर्यातका प्रमुख गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन्। भन्सार शुल्क भने अमेरिकी आयातकर्ताले तिर्नुपर्ने व्यवस्था हुन्छ।
यसैबीच, ट्रम्पले इरानमा जारी प्रदर्शनमाथि सरकारी दमन भएको आरोप लगाउँदै आएका छन्। पछिल्ला दुई सातामा इरानमा करिब ५०० जनाको ज्यान गएको र १० हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको दाबी गरिएको छ।
ट्रम्पले इरानी सरकारलाई प्रदर्शनकारीमाथि गोली नचलाउन बारम्बार चेतावनी दिँदै आएका छन्। साथै, इरानलाई त्यसो नगर्न बाध्य पार्न अमेरिकाले चाल्न सक्ने चारवटा विकल्पबारे छलफल भएको पनि उनले संकेत गरेका छन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्