Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बैतडीमा जीप दुर्घटना: मृतकको संख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।

डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सिगास गाउँपालिका–१ की २७ वर्षीया वसन्ती ऐरको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब ११ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट र डडेल्धुरा आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा परी सिगास–१ की १९ वर्षीया बिमला ऐर, चार वर्षीया प्रन्सा ऐर, दुधिलाखानका २८ वर्षीय जीप चालक गणेश विष्ट, पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्ट, सिगास–१ का २५ वर्षीय लालमणि बोहरा र डडेल्धुरा आलिताल–३ का ३२ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन्।

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार