Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि लामिछानेको ओभर कन्फिडेन्स, बाँड्न थाले मन्त्री पद

काठमाडौं ।  फागुन २१ आउन अझै ५९ दिन बाँकी छ। निर्वाचन प्रक्रिया सुरु हुन बाँकी छ, उम्मेदवारको अन्तिम सूची सार्वजनिक भइसकेको छैन। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने भावी सरकारको संरचना सार्वजनिक गरिसकेको छ। प्रधानमन्त्री र अर्थमन्त्री—दुवैको नाम घोषणा भइसकेको छ।

पुस १३ गते बालेन शाहसँगको सहमतिपछि पार्टी सभापति रवि लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिसकेका थिए। सोमबार काठमाडौंमा आयोजित पार्टी समायोजन घोषणा सभामा उनले त्यसलाई अझ एक कदम अघि बढाउँदै अर्थमन्त्रीको समेत घोषणा गरे। “स्वर्णिमजी, अब आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्,” भन्ने उनको भनाइले हल तात्यो।
तर यहीँ प्रश्न उठ्छ—

कुन संसद्को बजेट? कुन सरकारको योजना?
रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ को–को उम्मेदवार उठाउँदैछ भन्ने स्पष्ट पारेको छैन। स्वर्णिम वाग्ले कुन क्षेत्रमा उठ्ने, जित्ने वा हार्ने—कुनै टुंगो छैन। तर अर्थमन्त्री भने तय भइसकेको छ। चुनावी प्रतिस्पर्धा हुनुअघि नै मन्त्रालय बाँडफाँड गर्नु राजनीतिक आत्मविश्वास हो कि आत्ममोह ?

रास्वपाको यो शैलीलाई समर्थकहरूले “वैकल्पिक शक्तिको एकताको सन्देश” भन्छन्। बालेन शाह, कुलमान घिसिङ, जेनजी—यी सबै नाम जोडेर पार्टीले चुनावअघि नै बहुमतको कथा निर्माण गरेको देखिन्छ। तर राजनीति कथा होइन, अंकगणित हो। मतपेटिकामा नाम होइन, मत गनिन्छ।

लोकप्रियता र बहुमत एउटै कुरा होइन।
सोसल मिडियाको ट्रेन्ड र मतपेटिकाको नतिजा सधैँ मिल्दैन। रवि लामिछाने र रास्वपाले उठाएका धेरै प्रश्न सही हुन सक्छन्। पुराना दलप्रतिको जनआक्रोश वास्तविक हो। तर चुनावअघि नै प्रधानमन्त्री र अर्थमन्त्री घोषणा गर्नु आशाको राजनीति कम र ओभर कन्फिडेन्स बढी देखिन्छ।

राजनीतिमा सबैभन्दा खतरनाक कुरा विरोध होइन, अतिआत्मविश्वास हो। मत नआउँदै कुर्सी बाँड्नु जोखिमपूर्ण संकेत हो। चुनाव आउन बाँकी छ। निर्णय जनताले गर्नेछन्। घोषणाबाट होइन, मतबाट सरकार बन्छ— र त्यो सत्यलाई कुनै पनि वैकल्पिक शक्तिले नजरअन्दाज गर्न मिल्दैन।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार