NL न्यूज
काठमाडौं | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशबाट देशकै हेभीवेट राजनीतिक नेताहरू चुनावी मैदानमा होमिएका छन्। मनोनयन दर्ता सम्पन्न भएसँगै एमाले, नेपाली कांग्रेस, राप्रपा, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका हुन्।
तर यो निर्वाचन अघिल्ला चुनावजस्तै सहज छैन। ‘जेन्जी’ आन्दोलनपछि फेरिएको राजनीतिक चेतना, परम्परागत दलप्रतिको असन्तुष्टि र डिजिटल केन्द्रित चुनावी अभियानका कारण स्थापित नेताहरूलाई पनि आफ्नो जित सुनिश्चित गर्न हम्मे–हम्मे देखिएको छ। बदलिएको मतदाता मनोविज्ञानले कोशी प्रदेशलाई यसपटक सबैभन्दा अनिश्चित र चासोपूर्ण चुनावी थलो बनाइदिएको छ। उता धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि श्रम संस्कृति पार्टी नै खोलेर चुनावी मैदानमा उत्रिएका छन् । उनको पार्टी आफैंले कति स्थानमा चुनाव जित्छ यसै भन्न सकिन्न तर धेरै स्थानमा चुनावी भविष्यवाणीलाई उलटपुलट बनाइदिन भने पक्कै सक्छ ।
कोशीमा २८ वटा निर्वाचन क्षेत्र छन्। २८ निर्वाचन क्षेत्रमा कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा धेरै उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा परेको छ। त्यहाँ ३४ जना मैदानमा उत्रिएका छन्। सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा गरी १०९ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ मा २६, २ मा २८, ३ मा २२ र क्षेत्र ४ मा ३४ जना उम्मेदवार छन्।
मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जना उम्मेदवार छन्। जसमा डा. शेखर कोइराला, गुरुराज घिमिरे र डा. सुनिल शर्मा जस्ता प्रभावशाली नेताहरू चुनावी मैदानमा छन्।
झापाको ५ निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दिएका छन्। झापा १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जना उम्मेदवार छन्। झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका निवर्तमान मेयर बालेन शाहको टकराव यो चुनावको इपिसेन्टर नै हो । झापा-२ मा विघठित संसद्का दुई प्रमुख पदाधिकारी निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना नै आमनेसामने छन् । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका तर्फबाट राजेन्द्रकुमार घिमिरे तथा स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ जना उम्मेदवार छन् । उदयपुर १ मा १८ र २ मा १३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै दुईवटै निर्वाचन क्षेत्र रहेको इलाममा कुल २७ जना चुनावी मैदानमा छन् । इलाम १ मा १३ र २ मा १४ जना मैदानमा छन् । ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन्।
सुनसरी-१ मा धरानका पूर्वमेयर हर्कराज राईको उम्मेदवारीले चर्चा कमाएको छ भने क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
सम्बन्धित समाचार
१० हजार रुपैयाँ तिरेर दलहरुले मतदाता नामावली किन्न सक्ने





प्रतिक्रिया दिनुहोस्