फोटो ग्यालेरी
काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारमा लागू गरिएको मापदण्डको विरोधमा सरोकारवाला समूहले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
खोला किनारबाट हाल कायम २० मिटरभन्दा थप २० मिटर खाली छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिएको हो। उक्त फैसलाले उपत्यकाका बासिन्दा र व्यवसायीहरू प्रभावित हुने भन्दै सरोकारवालाले निर्णय पुनरावलोकनको माग गर्दै आएका छन्।
यसअघि पनि उनीहरूले सर्वोच्चको निर्णय सच्याउन माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका थिए। सर्वोच्च अदालतले खोला किनारको संरक्षणका लागि हालको मापदण्डमा थप २० मिटर कायम गर्नुपर्ने फैसला सुनाएको थियो।
सरोकार समितिले सो फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मामाथि महाअभियोग लगाउनुपर्ने मागसमेत अघि सारेको छ।
यसैबीच, सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसकिने जनाउँदै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले पुनरावलोकन निवेदन दायर गरेका थिए। उक्त निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी





प्रतिक्रिया दिनुहोस्