फोटो ग्यालेरी
भोजपुर । भोजपुर र सङ्खुवासभा जोड्ने मुख्य नाका सतिघाटमा अरुण नदीमाथि पक्की पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि कठिनाइ झेल्दै आएका छन्। उत्तरी क्षेत्रबाट अन्य जिल्लातर्फ आवतजावत गर्ने प्रमुख मार्गमै स्थायी पुल नहुँदा दैनिक जीवनसँगै व्यापारिक गतिविधि समेत प्रभावित बनेको छ।
स्थायी पुलको अभावमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक गडबडी, हावाहुरी र वर्षायाममा नदीको बहाव बढ्दा सेवा नियमित हुन सकेको छैन। बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुने हुँदा सर्वसाधारण झोलुङ्गे पुल प्रयोग गर्न र आवश्यक सामान पिठ्यूँमा बोकेर नदी पार गर्न बाध्य छन्।
पुल नहुँदाको समस्या विशेषगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दाले भोगिरहेका छन्। स्थानीयवासीका अनुसार लामो समयदेखि सतिघाटमा पक्की पुल निर्माणको आशा गरिँदै आए पनि अहिलेसम्म ठोस प्रगति देखिएको छैन।
हाल हिउँद याममा बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। तर यो अस्थायी उपाय मात्र भएको बताउँदै षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले सतिघाटमा स्थायी पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिएका छन्।
तस्बिर: नेपाल फोटो लाइब्ररी





प्रतिक्रिया दिनुहोस्