Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

सूर्यविनायक–धुलिखेल सडक विस्तार चार वर्षमा पनि अधुरो (तस्बिरसहित)

काठमाडौं । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक खण्डको निर्माण कार्य सुरु भएको चार वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन। हालसम्म यस सडकको करिब ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

सडक विस्तारका क्रममा विभिन्न स्थानमा खनिएका खाल्डाखुल्डी र धुलोका कारण सडक अत्यन्तै धुलामे बनेको छ, जसले दैनिक आवतजावत गर्ने यात्रु तथा आसपास बसोबास गर्ने स्थानीयको दैनिक जनजीवन प्रभावित भइरहेको छ।

यो सडक खण्डको निर्माण कार्य २०७९ देखि सुरु भएको भए पनि समयमै नसकिँदा ठेक्का तोड्दा काम अझ सुस्त भएको छ । दैनिक रूपमा हजारौँ मानिस ओहोरदोहोर गर्ने र काठमाडौँ प्रवेश गर्ने एक प्रमुख नाकाको रूपमा रहेको यो सडक खण्ड वरिपरि बसोबास गर्ने मानिसहरू अझै प्रभावित छन् ।
 
करिब १६ किलोमिटर लम्बाई रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति गर्न सुरु गरिएको हो ।साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गर्न सुरु गरिएको भए पनि काम समयमै पुरा नहुँदा थप समस्या बढ्ने पिर छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सडक निर्माणको काम सुरु भएदेखि देशमा विभिन्न पार्टीका नेतृत्वमा सरकार बनेर ढले पनि यो सडक खण्डको अवस्थामा परिवर्तन आउन सकेको छैन ।

यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्‍याइएको छ ।

तस्बिर :  नेपाल फोटो लाइब्रेरी 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी