फोटो ग्यालेरी
काठमाडौं। जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। आन्दोलनका क्रममा ध्वस्त भएका १२ वटा भाटभटेनीमध्ये कोटेश्वर शाखा शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
पुनः सञ्चालनको शुभारम्भ गर्दै भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भविष्यमा यस्ता घटना नदोहरियोस् भनी कामना गरे। उनले आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी र तोडफोड हुनु दुःखद भएको उल्लेख गर्दै त्यसबाट निराश भएर नबस्ने बताए।
‘हे भगवान, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्। नेपाल राम्रो हुनैपर्छ,’ उनले भने, ‘जुन दुर्घटना भयो, त्यसको ठूलो भार भाटभटेनीले भोग्नु पर्यो। तर जिरो भएको अवस्थाबाट पनि हामी उठेका छौँ।’ गुरुङले बाँकी ११ वटा क्षतिग्रस्त शाखा पनि क्रमशः पुनः सञ्चालनमा ल्याइने जानकारी दिए। ‘भाटभटेनी मात्रै होइन, नेपाल नै उठ्छ। नेपालीसँग हिम्मत र क्षमता छ,’ उनले भने।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रको स्वामित्वमा रहेका १२ वटा भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा आगजनी हुँदा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको थियो। आन्दोलनपछि पुनर्निर्माणको काम तीव्र पारिएको कम्पनीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्