Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरसहित)

काठमाडौं ।  तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको समष्टिगत प्रगति ४५ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ।

आयोजना अन्तर्गत सातवटा सुरुङमध्ये महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा पाँचवटा सुरुङ निर्माणाधीन छन्। हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडामा दुईतर्फी गरी चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको छ। नेपाली सेना सडक निर्माण आयोजनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुने गरी काम अघि बढाइएको छ। ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ।

ललितपुरको खोकनादेखि सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त ७०.९७७ किमी लम्बाइको द्रुतमार्ग पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर चौडाइको हुनेछ। आयोजनाअन्तर्गत ललितपुरमा ९, काठमाडौंमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार द्रुतमार्ग अन्तर्गत साना–ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन्। हालसम्म ८२ मिटरसम्म उचाइ भएका १३ विशेष प्रकारका पुल निर्माण सम्पन्न भइसकेको छ। ८५ स्थानमा पुल निर्माण ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको छ। बाँकी चार स्थानमा पुल निर्माणको लागि जग्गा अधिग्रहण समस्या रहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।

आयोजना अन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा ५ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ।
एसियन हाइवे स्ट्याण्डर्डअनुसार निर्माण भइरहेको यो द्रुतमार्ग राजधानीलाई छोटो समयमा तराईसँग जोड्ने देशकै पहिलो द्रुतमार्ग हो। प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। आयोजनालाई २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
पूर्ण भएपछि काठमाडौं–मध्य तराईको यात्रा करिब एक घण्टामा पूरा गर्न सकिने अपेक्षा गरिएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी