Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

राष्ट्रियसभा निर्वाचन: वागमती प्रदेशमा मतदान जारी (तस्बिरहरु)

हेटौंडा। वागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत वागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भइरहेको हो ।

निर्वाचनमा कुल ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । महिला क्लष्टरमा एमाले–काँग्रेस गठबन्धनबाट नेपाली काँग्रेसकी गीता देवकोटा, नेकपा बाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार रहेका छन् ।  अन्य क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुको उम्मेदवारी छ ।
‘क’ मतदान केन्द्रमा वागमती प्रदेशसभा सदस्यहरूले तथा ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ । दुवै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८–८ जना गरी कुल १६ जना कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत केशव कौशिकले जानकारी दिएका छन् । 

बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये हाल १०४ जना कायम छन् ।  ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ १ सय १९ पालिकाका २ सय ३८ जनामध्ये नागार्जुन नगरपालिकाका मेयर निलम्बनमा रहेका र ३ जनाले राजीनामा दिएका कारण हाल २ सय ३४ जना मतदाता कायम रहेका छन् । 

प्रदेशसभातर्फ ५३ मतभारसहित ५ हजार ५ सय १२ र स्थानीय तहतर्फ १९ मतभारसहित ४ हजार ४ सय ४६ गरी कुल ९ हजार ९ सय ५८ मतभार कायम रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिएका छन् । 

वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (समाजवादी) का वेदुराम भुसालको पदावधि आगामी फागुन महिनामा सकिँदैछ । सोही पदकालागी संवैधानिक प्रावधानअनुसार निर्वाचन हुन लागेको हो ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी