फोटो ग्यालेरी
भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको उक्त अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ।
अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटर लामो पुलसमेत निर्माण गरिने आयोजनाले जनाएको छ। सब–इन्जिनियर ज्ञानमान श्रेष्ठका अनुसार हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत कुल १५.८ किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति गरिएको छ। जसअनुसार साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामार्फत विस्तार भइरहेको छ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ। सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो।
सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको आयोजनाले जनाएको छ। प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहे पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्तसम्म पुर्याइएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी





प्रतिक्रिया दिनुहोस्