फोटो ग्यालेरी
काठमाडौं । थारु समुदायले नयाँ वर्ष, सामाजिक पुनरावलोकन र स्वतन्त्रताको प्रतीकका रूपमा आज माघी पर्व धुमधामका साथ मनाउँदै छन् । माघीको अवसरमा थारु बस्तीहरूमा आज बिहान नदी, ताल वा खोल्सामा स्नान गरी पूजा गर्ने र ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने परम्परा छ ।
विभिन्न स्थानमा माघी महोत्सव आयोजना गरिएका छन् । महोत्सवमा झुम्रा, झर्रा, लाठी, मयूर, मघौटा नाच, सांस्कृतिक झाँकी तथा थारु भेषभूषाको प्रदर्शन गरिएको छ । माघी महोत्सवमा ढिक्री, भक्का, घोँगी, माछालगायत मौलिक परिकारले विशेष आकर्षण थपेका छन् ।
माघी पर्व सामाजिक संरचनासँग पनि गहिरो रूपमा जोडिएको छ । यस अवसरमा घरपरिवार र गाउँस्तरमा विगतको समीक्षा र आगामी वर्षको योजना बनाइन्छ । इतिहासमा माघी थारु समुदायका लागि पीडा र संघर्षसँग पनि जोडिएको पर्व हो ।
यही समयमा कमैया र कमलरी प्रथासम्बन्धी कठोर निर्णय हुने गर्थे । कानुनी रूपमा यी प्रथा अन्त्य भए पनि मुक्त कमैया र कमलरी समुदायले अझै सामाजिक तथा आर्थिक चुनौती भोगिरहेको थारु अगुवाहरू बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्