Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

चिनी मिलको उधारो ६७५ छोडेर स्थानीय क्रसरको नगद ६०० रोज्दै सर्लाहीका उखु किसान (तस्बिरसहित)

माघे संक्रान्ति नजिकिँदै गर्दा सर्लाहीका उखु किसानहरू यतिबेला सखर (गुड) बनाउने काममा व्यस्त छन्। चाडपर्वको मुखमा नगद आवश्यक पर्ने भएकाले किसानहरूले सरकारी दररेट र चिनी मिलले दिने आकर्षक मूल्यभन्दा पनि स्थानीय सखर उद्योग (क्रसर) रोज्न थालेका छन्।

हाल चिनी मिलहरूले उखुको मूल्य प्रतिक्विन्टल ६७५ रुपैयाँसम्म तोकेका छन्। तर स्थानीय क्रसर उद्योगले भने प्रतिक्विन्टल ६०० रुपैयाँ मात्र दिन्छन्। मूल्यमा प्रतिक्विन्टल ७५ रुपैयाँ कम हुँदाहुँदै पनि किसानहरू क्रसरतर्फ आकर्षित हुनुको मुख्य कारण समयमै भुक्तानी हो।

किसानका अनुसार चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्छ। तर स्थानीय सखर उद्योगले १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। “मिलको उधारोभन्दा अलि कम भए पनि छिटो पैसा पाउनु चाडपर्व र घरखर्च चलाउन सहज हुन्छ,” एक किसानले बताए।

स्थानीय रूपमा सञ्चालित सखर उद्योगहरूले ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्‍याएका छन्। किसानहरूका अनुसार एक क्विन्टल सखर उत्पादन गर्न करिब ७ क्विन्टल उखु खपत हुन्छ। यी उद्योगबाट गाउँमै रोजगारी सिर्जना भएको र युवाहरूलाई स्थानीय स्तरमै काम मिलेको छ।

यद्यपि, जाडो याममा तराईमा चल्ने शीतलहरले सखर उत्पादनमा चुनौती थपेको छ। सखर पकाउन प्रयोग गरिने उखुको छोकरा (बगास) घाम नलाग्दा नसुक्ने समस्या देखिएको छ। यस्तो अवस्थामा किसानहरूले महँगो मूल्यमा दाउरा किनेर सखर पकाउनुपर्ने बाध्यता छ।

माघे संक्रान्तिमा सखरको माग उच्च हुने भएकाले सबै कठिनाइका बाबजुद किसानहरू दिनरात खटिएर उपभोक्ताको माग पूरा गर्न र आफ्नो दैनिकी चलाउन प्रयासरत देखिन्छन्।

तस्बिर - श्रीधर पौडेल/ नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी