Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

१२ दिनमा खस्कियो कुलमानको छवि, गुम्यो विश्वास, हरायो 'उज्यालो'को चमक

काठमाडौँ । कहिल्यै नझुक्ने, सिस्टमसँग ठोक्किने, ‘लोडसेडिङको अन्त्यकर्ता’ भनेर जनताले टाउकोमा चढाएका कुलमान घिसिङ राजनीतिमा आउँदा धेरैले सोचे कि अब त पुरानो खेल सकियो, नयाँ राजनीति सुरु भयो ।
तर राजनीति कुनै प्राधिकरण होइन, जहाँ कार्यकारी निर्देशकले आदेश दिँदा तुरुन्त पालना हुन्छ। राजनीति सम्झौता, धैर्य, शक्ति–सन्तुलन र सबैभन्दा बढी संयमको खेल हो। यही खेलमा कुलमान १२ दिनमै चिप्लिएका देखिए।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको भनिएको ‘एकता’ आज हेर्दा एकता कम, हिसाब–किताबको सौदा बढी देखिन पुग्यो। बाहिर संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता ठूला शब्द थिए। भित्र भने पद, प्रतिशत, सूची, वरिष्ठताको देखियो । अनि उनलाई लागेको आरोप— प्रधानमन्त्रीको आधा कार्यकाल।

प्रधानमन्त्रीको आधा कुर्सी : राजनीति कि महत्वाकांक्षा?
रास्वपाको पछिल्लो दाबीले यो विवादलाई नयाँ तहमा पुर्‍याइदिएको छ। पार्टी निकट स्रोतहरूका अनुसार कुलमान घिसिङले रास्वपासँगको एकतापछि भविष्यमा बन्ने सरकारमा प्रधानमन्त्रीको आधा कार्यकाल सुनिश्चित हुनुपर्ने माग राखेका थिए। अर्थात् पहिले बालेन, त्यसपछि कुलमान घिसिङ। वा गठबन्धन सरकार बनेमा ‘टर्न–बाइ–टर्न प्रधानमन्त्री’। यो माग सार्वजनिक रूपमा नआए पनि भित्रभित्रै यहीँनेर कुरा अड्किएको रास्वपाका नेताहरूको दाबी छ। रास्वपाका एक सचिवालय सदस्यको शब्दमा— “हामी पार्टी एकीकरणको कुरा गरिरहेका थियौं, उहाँ सरकारको नेतृत्व बाँडफाँडको कुरा गर्दै हुनुहुन्थ्यो।” यहाँ प्रश्न उठ्छ राजनीतिमा आउनासाथ प्रधानमन्त्रीको कुर्सी देख्नु दूरदर्शिता हो कि हतार? भलै शनिवार पत्रकार सम्मेलनमा उनले मैले प्रधानमन्त्री नमागेको, पद नमागेको साधारण सदस्य बन्न तयार रहेको भने । तर मान्नेले मान्न तयार छैनन् । अहिले रास्वपाका नेताहरूले त झुट नबोलेको भए हुने भन्न थालिसके । 

पुस १४को सहमति : कुलमानको कमजोर कार्ड
कुलमान पक्ष बारम्बार भन्छ— “ सहमति कार्यान्वयन भएन।” तर नेपाली राजनीतिमा  सहमति भनेको चियाको गफजस्तै हो— मिठो, तर दिगो होइन। पुस १४ गते राति भएको सहमति कार्यान्वयन नभएको उनेपाको बुझाई छ । अनि भरोसामा उज्यालो नेपाल पार्टी रास्वपामा मिसिएको उनीहरूको तर्क छ । 

परिणाम के भयो ? 
– समानुपातिक १८ जनाको सूची काटछाँट
– अधिकांशलाई सूचीको पछिल्तिर
– पदाधिकारीमा अपेक्षित हिस्सेदारी शून्य
– महामन्त्री नपाएको
यहीँबाट उज्यालोभित्र शंका सुरु भयो— हामी पार्टी मिसायौं कि पार्टीमा मिसियौं?

अल्फाबेटिकल राजनीति कुलमानको अवमूल्यन
राजनीति कहिलेकाहीँ शब्दको खेल मात्र हुँदैन, क्रमको पनि खेल हुन्छ। नेपाली वर्णानुक्रम होइन, अंग्रेजी अल्फाबेट। यही आधारमा उपसभापतिहरूको बसाइ मिलाइयो।
कुलमान—
पहिले चौथो,
पछि पाँचौं।
वरिष्ठताको सम्मान बालेन साहलाई। रविको तर्क थियो— “सबै उपसभापति समान हैसियतका हुन्।” तर व्यवहारले देखायो— समान हैसियत, तर असमान व्यवहार। त्यो क्षण धेरै उज्यालो नेताका लागि संकेत थियो— हामी यहाँ निर्णायक होइनौं।

रवि–बालेन समीकरण : कुलमान किन ओझेलमा परे?
बालुवाटारसम्म पुग्ने एउटा रिसर्च रिपोर्टले खेल पल्टायो। ४० प्रतिशतले बालेन साहलाई भावी प्रधानमन्त्रीको रूपमा हेरेको, रवि र कुलमानलाई जम्मा ८ प्रतिशतले मात्र रुचाएको तथ्य बाहिर आएपछि रास्वपाको प्राथमिकता फेरियो। हुनपनि राजनीति भावनाले होइन, गणनाले चल्छ। शहरी मत बालेनबाट आउँछ भन्ने निष्कर्षपछि रविले बालेनलाई अँगालो हाले। कुलमान भने नेगोशिएसन टुल मा सीमित भए। यही रणनीतिअन्तर्गत काठमाडौँ–३ बौद्धमा कुलमानलाई नसोधी चुनावी कार्यक्रम राखियो। जनजाति बाहुल्य क्षेत्रमा ‘काउण्टर शो’ गरेर सन्देश दिइयो— रास्वपा आफ्नो बाटो हिँडिसक्यो।

मन्त्री बनेपछि कुलमानले जे गुमाए
राजनीतिमा आउँदा कसैले केही गुमाउँछ। तर कुलमानले एकैचोटि धेरै गुमाए । विश्वास, धैर्य र नैतिक उचाइ गुमाए । तीन ठूला मन्त्रालय ‘मागेरै’ लिनु शक्ति थियो। तर त्यो शक्तिले अहंकार जन्मायो।
– हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णय
– मनोज सिलवालको नियुक्ति
– पीटीसी इन्डियासँग महँगो बिजुली सम्झौता
– ४३ करोडको गडबडीको आरोप
– “३ अर्ब फाइदा” भन्ने हास्यास्पद तर्क
यी सबैले उनको ‘क्लिन इमेज’ च्यातियो। उद्योगीसँग गरिएको सहमति आफैंले कार्यान्वयन नगर्नु, प्रधानमन्त्री कार्यालय र सर्वोच्च अदालतको निर्देशन अवज्ञा गर्नुले कुलमानलाई सिस्टम सुधारक होइन, सिस्टम कब्जा गर्न खोज्ने पात्रको रूपमा उभ्यायो। अनि समानुपातिक सूचीमा आफ्नो मान्छे राख्दा जनताले पनि विश्वास गर्न छोडे । 

१२ दिनमै भाँडिएको एकता : दोष कसको?
रास्वपा भन्छ— “उज्यालोले पद, प्रतिशत, प्रधानमन्त्रीको आधा कार्यकालसम्म माग्यो।” उज्यालो भन्छ—“रास्वपाले धोका दियो, लिखित सहमति गरेन।” तर सत्य यो हो कि यो एकता विचारको थिएन, सत्ताको थियो। जहाँ दुवै पक्ष जित्न खोजिरहेका थिए, तर हार कसले बेहोर्ने भन्ने सोचेनन्।

कुलमानको राजनीति अब कहाँ?
१२ दिनमै उज्यालो निभ्नु सामान्य होइन। यो संकेत हो— राजनीति प्राधिकरण होइन। प्रधानमन्त्रीको आधा कुर्सी माग्नु सपना देख्नु हो। तर सपना देख्दा जमिन नछोडे हुन्थ्यो। यदि कुलमान घिसिङ साँच्चै वैकल्पिक राजनीति गर्न आएका हुन् भने पहिले शक्ति होइन, विश्वास कमाउनुपर्नेछ। पहिले पद होइन, पद्धति बुझ्नुपर्नेछ। नत्र इतिहासले उनलाई नायकका रूपमा होइन,“अत्यधिक महत्वाकांक्षाले चिप्लिएको सम्भावना” का रूपमा सम्झिनेछ। उज्यालो बल्ने कि निभ्ने— अब त्यो कुलमानकै हातमा छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार