Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनमा लुकेको सन्देशको 'Decode'

शब्द-शब्द केलाउँदै जाने हो भने यो सम्बोधनमा धेरै तहका सन्देश लुकेका छन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधन सतहमा हेर्दा सामान्य चिन्ता र राष्टप्रेम जस्तो देखिन्छ । तर शब्द-शब्द केलाउँदै जाने हो भने यो सम्बोधनमा धेरै तहका सन्देश लुकेका छन् ।  जून सीधा नभई घुमाएर, संकेतमार्फत भनिएको छ। 
 
सबैभन्दा पहिले, "हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नरहने हो कि" भन्ने वाक्य केवल भावनात्मक अभिव्यक्ति होइन । यसको अर्थ सीधै आजको राजनीतिक व्यवस्थाप्रति गहिरो अविश्वास हो । पूर्वराजा यहाँ व्यवस्था परिवर्तनपछि देश सही दिशामा गयो कि गएन भन्ने प्रश्न उठाइरहेका छन्। उनले नाम नलिई राजनीतिक दल र गणतान्त्रिक संरचनालाई 'देश जोगाउन असफल ठहर गरेका छन्।
 
दोस्रो महत्वपूर्ण सन्देश 'भाषण, जादू र चमत्कारले देश बन्दैन' भन्ने वाक्यमा लुकेको छ। यो सिधै आजका नेताहरूको लोकप्रियता-केन्द्रित राजनीति भाषणबाजी र खोक्रो आश्वासनमाथिको कटाक्ष हो । जनताले सून्न चाहेको कुरा मात्र बोलेर सत्ता टिकाउने प्रवत्तिप्रति उनको असन्तुष्टि यहाँ प्रष्ट देखिन्छ ।
 
तेस्रो, सबैभन्दा रणनीतिक शब्द हो- 'राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन सक्दैन' । यो वाक्यको सतही अर्थ त राजसंस्था सधैँ राष्ट्रप्रति उत्तरदायी रहन्छ भन्नेहो । तर भित्री अर्थ के हो भने: "हामी सक्रिय राजनीतिबाट बाहिर छौँ तर समाप्त भएका छैनौं।" अर्थात् समय र परिस्थितिले मागेमा राजसंस्था फेरि विकल्पको रूपमा प्रस्तुत हन सक्छ भन्ने संकेत।
 
चौथो सन्देश 'हामीले श्रीपेच जनताको नासो भन्दै सुरक्षित निकायमा बूझायौं भन्ने कथनमा लुकेको छ। यसको अर्थ, राजसंस्थाको अन्त्य जनताको स्पष्ट अस्वीकारबाट होइन, राजनीतिक दलहरूको आग्रह र आश्वासनमा भएको थियो भन्ने सन्देश दिन खोजिएको छ। यसले जिम्मेवारी आजको अवस्थाको पूर्ण रूपमा राजनीतिक नेतत्वतिर धकेल्ने प्रयास गर्छ ।
 
पथ्वीनारायण शाहको बारम्बार स्मरण गर्न पनि संयोग होइन । 'चार वर्ण छत्तीस जातको साझा फुलबारी' को सन्दर्भ उठाएर पूर्वराजाले राष्ट्रिय एकता कमजोर हुँदै गएको संकेत गरेका छन् । संघीयता, पहिचान राजनीति र ध्रवीकरणप्रति असन्तोष जनाउँदै उनी 'पुरानो राष्ट्रवाद' लाई पुन: वैध बनाउन खोजिरहेका देखिन्छन् ।
 
सबैभन्दा चासोको विषय 'पृथ्वीपथ' शब्द हो । यो कुनै साधारण ऐतिहासिक शब्द होइन । यसको प्रयोगमार्फत पूर्वराजाले आफ्नो सोचको वैचारिक आधार पृथ्वीनारायण शाहको राज्यदर्शनसँग जोडदै वर्तमान राजनीतिक मार्ग गलत दिशामा गएको दाबी गरेका छन् । सरल भाषामा भन्नुपर्दा-- "हामीले छोडेको बाटो ठीक थियो, अहिलेको बाटोले देश दुर्घटनातिर जादैछ।"
 
अन्त्यमा, यो सम्बोधन प्रत्यक्ष रूपमा 'राजा फर्किन्छन्' भन्ने घोषणाजस्तो छैन । तर यो जनमत परीक्षण हो । देशप्रति असन्तुष्ट वर्ग, निराश युवा र असफलताबाट दिक्क जनता कति प्रतिक्रियावादी छन् भन्ने नाप्ने सन्देश हो । एक किसिमले यो मौन राजनीतिक दस्तक हो--ढोका खोल्ने कि नखोल्ने अब जनतामाथि छोडिएकाे संकेत हाे । संक्षेपमा भन्नु पर्दा, पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन भावनात्मक भाषण मात्र होइन । यो आजको व्यवस्थामाथिको प्रश्न, विकल्पको संकेत र भविष्यका सम्भावनाक सरक्ष्म राजनीतिक म्यासेज हो । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार