Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पलटुराम अर्थात् शेखर कोइराला

जसले विशेष महाधिवेशन खोजे उही अन्तिम समयमा देउवा क्याम्पमा गएको विशेष महाधिवेशपक्षधरकाे आरोप

काठमाडौं ।  नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस सुरुमा विधान, समयसीमा र प्रक्रियाको विषयजस्तो देखिएको थियो। तर समयसँगै यो बहस पार्टीभित्रको शक्ति संरचना, नेतृत्व परिवर्तन र राजनीतिक इमानदारीको प्रश्नमा रूपान्तरण भयो। आज यो बहसले एउटा केन्द्रीय पात्र जन्माएको छ—शेखर कोइराला। हिजो परिवर्तनको एजेन्डा बोकेर अगाडि आएका कोइराला आज त्यही एजेन्डाबाट किन पछि हटे भन्ने प्रश्नले कांग्रेसको आन्तरिक राजनीतिलाई तरंगित बनाएको छ।


विशेष महाधिवेशन के हो र किन उठ्यो?
विशेष महाधिवेशन कुनै आकस्मिक माग होइन। कांग्रेसको नियमित महाधिवेशन समयमै हुन नसकेको, नेतृत्वमाथि असन्तुष्टि बढेको र संगठनात्मक जडता गहिरिँदै गएको पृष्ठभूमिमा यो मुद्दा उठाइएको हो। विशेष महाधिवेशनमार्फत पार्टीको नीति, नेतृत्व र संगठनमा पुनरावलोकन गरौं भन्ने धार बलियो बन्दै गएको थियो। यसले संस्थापन नेतृत्वलाई चुनौती दिने स्वाभाविक अर्थ बोकेको थियो।

शेखर कोइरालाको भूमिका सुरुवातमा के थियो?
यो बहसको सुरुवाती चरणमा सबैभन्दा स्पष्ट र आक्रामक आवाज शेखर कोइरालाकै थियो। उनले ०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडान सार्वजनिक रूपमा लिएका थिए। भदौ २३–२४ अघि उनी महामन्त्री गगन थापाभन्दा पनि एक कदम अगाडि देखिन्थे। विशेष महाधिवेशनलाई नियमित महाधिवेशनतर्फ दबाब दिने औजारका रूपमा प्रयोग गर्ने रणनीति पनि उनकै वरिपरि बनेको थियो।

जेन–जी आन्दोलनपछि बहस किन तीव्र भयो?
जेन–जी आन्दोलनले परम्परागत राजनीतिक नेतृत्वप्रति गहिरो असन्तुष्टि सतहमा ल्यायो। यसपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नीति र नेतृत्व नबदली चुनावमा जान नसकिने निष्कर्ष निकाले। यो निष्कर्ष शेखर कोइरालाको अघिल्लो लाइनसँग मिल्दोजुल्दो थियो। यही समानताका कारण विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सुरु भयो र दुई महामन्त्री त्यसको अगुवाइमा देखिए।

तर जब विशेष महाधिवेशनको बहस निर्णायक चरणमा पुग्यो, त्यही बेला शेखर कोइराला क्रमशः पृष्ठभूमिमा जान थाले। सुरुमा मौन, त्यसपछि उनको बोली नै फेरियो । नियमित र विशेष दुवै महाधिवेशनको एजेन्डा विसर्जन गर्दै उनी सभापति शेरबहादुर देउवाको कित्तामा उभिन पुगे। अहिले त उनी मध्यमार्गी बाटो खोजौँ भन्न थालेका छन् ।

कोइरालाको पल्टराम नीतिले विशेष महाधिवेशन पक्षधर रुष्ट
विशेष महाधिवेशनको पक्षमा उभिएका धेरै नेता–कार्यकर्ताको बुझाइ फरक छ। यदि कोइरालाले अन्तिम क्षणसम्म अडान नछोडेको भए पार्टी आज नेतृत्व र नीतिमा नयाँ दिशातर्फ मोडिइसकेको हुन्थ्यो। आज देउवाले दुई महामन्त्रीलाई पेलेर जसरी शक्ति प्रदर्शन गरिरहेका छन्, त्यसको एउटा कारण कोइरालाको पछि हटाइ नै हो भन्ने धेरैको निष्कर्ष छ।

पल्टुराम’ आरोप किन लाग्यो?
‘पल्टुराम’ भन्ने शब्द व्यक्तिगत गाली होइन, राजनीतिक प्रवृत्तिको संकेत हो। एजेन्डा उठाउने, तर निर्णायक क्षणमा धार फेर्ने। कोशी प्रदेशमा विद्रोह, संघीय राजनीतिमा उल्टो लाइन, कांग्रेस–एमाले गठबन्धनको समर्थन र त्यसकै विरोध—यी सबै घटनाले कोइरालाको राजनीतिक यात्रामा निरन्तर पल्टुराम प्रवृत्ति देखाउँदै आएको छ । राजनीतिमा रणनीति बदलिनु अस्वाभाविक होइन। तर एउटै मुद्दामा बारम्बार अडान बदलिनु, आफ्नै निर्णयको विरोधमा उत्रिनु र परिस्थिति अनुसार धार फेर्नु राजनीतिक अस्थिरताको संकेत हो। उनलाई सभापति शेरबहादुर देउवाले अब पार्टी सभापति बनाउँछु भन्ने आश्वासनमात्र दिएनन्, राष्ट्रियसभामा ३ वटा सीट भाग पाए । त्यसैमा मख्ख परेका कोइरालाले आम कांग्रेस कार्यकर्ताको भावना बुझेनन् वा बुझ्न खोजेनन् ।

यही अस्थिरताले हो– शेखर कोइराला कांग्रेसको विश्वसनीय वैकल्पिक नेतृत्वका रूपमा स्थापित हुन अहिलेसम्म सकेका छैनन् ।आज कांग्रेस नेतृत्व परिवर्तन र संगठन पुनर्जागरणको चोकमा उभिएको छ। जिल्ला–जिल्लाबाट कार्यकर्ता राजधानीतिर आउँदै छन्। विशेष महाधिवेशन सफल हुन्छ कि असफल—त्यो अर्को बहस हो। तर यसले एउटा कुरा भने स्पष्ट बनाइदिएको छ। कांग्रेसको भविष्य देखाउने नेतृत्व केवल भाषण र एजेन्डाले होइन, अडान र स्थिरताले तय हुन्छ। एजेन्डा उठाउने तर निर्णायक क्षणमा पछि हट्ने प्रवृत्तिले शेखर कोइरालाको राजनीतिक विश्वसनीयतालाई गम्भीर परीक्षणमा राखेको छ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार