NL न्यूज
'कमब्याक' गर्न खोजेको भारतले पछिल्ला दिनमा राजनीतिक दलका नेताहरुसँग संवाद बढाएको छ । भारतीय संस्थापनले नेपाल मामिलामा स्थिरतालाई प्राथमिकतामा राखेको सन्देश दिन खोजेको छ । नेपाल मामिलामा सधैँ भारतीय हस्तक्षेप हुने आरोप खेपेको उसले पछिल्ला दिनमा विकास निर्माण र आर्थिक सहायतामा जोड दिने रणनीति बनाएको छ तर, सँगै पश्चिमा र चीनको प्रभाव कम गर्न राजनीतिक 'इंगेजमेन्ट' बढाउन पनि थालेको छ ।
पुराना र नयाँ दुबै दलका नेताहरुसँग उच्च संवाद जोड्न चाहेको भारतले पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले लगायतलाई महत्व दिएको पाइएको छ । यी नेताहरुमध्ये केहीसँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले नै संवाद गरेका छन् । मुख्त: प्रचण्डसँग भएका अनौपचारिक छलफलमा तीन वटा विषय डोभलले भारतीय पक्षको लाइन प्रष्ट पारेको स्रोतले भनेको छ ।
पहिलो- नेपालमा आमनिर्वाचन
सफल पार्दै राजनीतिक स्थिरता दिन
दोस्रो- पश्चिमा र चिनियाँ प्रभाव रोक्न
तेस्रो- लोकतान्त्रिकधारलाई बलियो बनाउन
चौथो- आर्थिक विकासमा जोड
यी मुख्य विषयका हुन् । चुनाव जसरी पनि गरेर राजनीतिक ट्रयाकमा ल्याउन भारतले सुझाव दिएको छ । लोकतान्त्रिक धार बलियो बनाउनुको अर्थ कम्युनिष्ट एकता वा गठबन्धनप्रति असन्तुष्टि प्रकट गरेकै छ । अनौपचारिक कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय पक्षले रोष प्रकट गरेको छ । ओलीले अस्थिरता निम्त्याउन अनेक तिक्डम अपनाएकाले तत्काल उनी र उनका दल एमालेसँग सहकार्य नगर्न पनि प्रचण्डलाई डोभलले सुझाएको स्रोतले दाबी गरेको छ । कतिपय जानकार त्यसैको परिणाम स्वरुप कांग्रेस-एमाले-नेकपाबीचको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन भाँडिएको दाबी गर्छन् ।
नेकपा अहिले एक्लै राष्ट्रियसभाको चुनावी मैदानमा उत्रिएको छ । भारत अहिले देउवालाई पनि विश्वास नगर्ने तहमा रहेको बुझिएकोछ । त्यही सन्देश दिन र आगामी रणनीति तय गर्न देउवा पत्नी राणालाई भारतको उच्च नेतृत्वले सुझाव दिइसकेको छ ।आन्तरिक लफडामा फँसेको कांग्रेसको आगामी बाटो प्रष्ट छैन तर, सकेसम्म फागुन २१ को आम चुनावमा एमालेसँगको चुनावी तालमेल हुननसक्ने आँकलन गर्न थालिएको छ । तर, भारतले नचाहेकै अवस्थामा २०८१ असारमा कांग्रेस-एमालेको गठबन्धन भएको थियो । त्यसैले उ देउवासँग विश्वस्त छैन । गगनहरु पश्चिमासँग निकट रहेको बुझाइमा रहेके भारत यो शक्तिसँग विश्वास गरिहाल्दैन । त्यसैले नयाँ शक्तिलाई विश्वासमा लिने पछिल्लो योजनाका रुपमा भारतले स्वर्णिममार्फत रास्वपासँग राजनीतिक संवाद अघि बढाएको छ । दलहरुसँग राजनीतिक सम्बन्ध चाहेको भारत तत्काल माइक्रोमेनेजमेन्टमा नजाने योजनामा देखिएको छ । परख गर्दै हेर्दै नयाँ पुस्तालाई फकाउने रणनीति बनाएको भारतले आफ्नोतर्फ मुख्य चासो यस्ता विषयहरुलाई बनाएको छ –
सुरक्षा र सीमा स्थिरता :
खुला सीमा भएकाले भारतलाई नेपालबाट आतङ्कवाद, नक्कली नोट वा अस्थिरता फैलिने डर छ। नेपाललाई चीनको
प्रभावबाट टाढा राख्न चाहन्छ ।
गोरखा भर्ती पुनः सुरु :
गोरखा रेजिमेन्टको परम्परा र युद्ध क्षमता कायम राख्न भारतले चाहेको छ । त्यसैले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले गोरखा सैनिकको कमीले सेनाको तयारीमा असर नपरे पनि परम्परा र सम्बन्धका लागि असर पार्ने बताएका थिए ।
युवा र जनस्तरको सम्बन्ध बढाउने :
जेनजी विद्रोहले नेपालको नयाँ पुस्तामा भारतप्रति केही सशंकित भावना बढाएको विश्लेषण छ। भारतले युवा आदानप्रदान, छात्रावृत्ति र सांस्कृतिक कार्यक्रमहरू मार्फत यो पुस्तासँग जोड्ने प्रयास थालेको छ । यी बाहेक नेपालको आन्तरिक मामिलामा धेरै नबोल्ने र आफू प्रतिकूल हुन नदिने योजना भारतको छ । भारतले चीन र पश्चिमा प्रभाव रोक्न पनि नेपाल नीतिमा केही परिवर्तन गरेको छ ।
नेपाल-भारत पारवहन सन्धि
अर्कोतिर आर्थिक विकासमा जोड दिएको भारतले केही योजनाहरु अगाडि बढाएको छ । गएको मंसिरमा नेपाल-भारत पारवहन सन्धिमा संशोधन गरिएको छ । जसले रेलमा आधारित माल ढुवानी र तेस्रो देशसँगको व्यापारलाई सहज बनाउँछ । त्यससँगै विद्द्युत व्यापारको प्राइसिङमा पनि भारत लचक बनेको छ । नेपालका उर्जा लगायतका क्षेत्रमा लगानी बढाउने प्रस्ताव पनि भारतले गरेको छ । हालको सुशीला सरकारलाई सुरुदेखिनै समर्थन गरेको भारतले राजनीतिकभन्दा आर्थिक विकासलाई नै जोड दिन खोजेको सन्देश दिएको छ । त्योसँगै क्षेत्रीय सुरक्षामा विशेष चासो दिएको छ । त्यसैको कडिका रुपमा दलका नेताहरुलाई भारतले सहज एक्सेस दिन थालेको साउथ ब्लकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्