Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भेनेजुएलाबाट नेपालले के सिक्ने ? सार्वभौमिकता किताबमा मात्र हो कि व्यवहारमा पनि ?

भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप र राष्ट्रपति मादुरोको पक्राउ केवल एउटा देशको सत्ता परिवर्तनको घटना मात्र होइन । यो सिधैसार्वभौमसत्ता, शक्ति सन्तुलन र साना–मध्यम राष्ट्रहरूको भविष्यसँग जोडिएको गम्भीर सन्देश हो । टाढा देखिए पनि यो घटनाबाट नेपालले सिक्नुपर्ने पाठ धेरै छन् । अझ भनौँ, नेपालजस्ता भू–राजनीतिक रूपमा संवेदनशील देशले यसलाई गम्भीर चेतावनीकै रूपमा लिनुपर्छ ।


सार्वभौमसत्ता कागजमा मात्र हुन्छ?
सैद्धान्तिक रूपमा भेनेजुएला पनि नेपालजस्तै एक सार्वभौम देश हो । आफ्नै झण्डा, सरकार, सेना र संविधान छ । तर जब विश्व शक्तिको हित ठोक्किन्छ, त्यो सार्वभौमसत्ता कागजमै सीमित हुने रहेछ भन्ने कुरा मादुरो प्रकरणले देखायो । अमेरिकाले कंग्रेसलाई समेत जानकारी नदिई अर्को देशको राजधानीमा सेना पठाएर राष्ट्रपतिलाई समात्नु भनेको अन्तर्राष्ट्रिय नियमको खुला उल्लंघन हो । तर नियम त्यहीँसम्म लागू हुन्छ, जहाँसम्म शक्ति पुग्दैन । नेपालका लागि यो सन्देश स्पष्ट छ — अन्तर्राष्ट्रिय कानुनले होइन, शक्ति सन्तुलनले देश बचिन्छ

नेपाल किन फरक छैन?
कतिपयले भन्छन्, “नेपाल भेनेजुएला होइन, हामी शान्त छौँ, कसैलाई धम्की दिएका छैनौँ।” तर इतिहास हेर्दा थाहा हुन्छ । साना देशहरू आक्रामक भएर होइन, रणनीतिक रूपमा कमजोर भएर हस्तक्षेपको सिकार हुन्छन् । भेनेजुएलाको गल्ती केवल मादुरोको शैली मात्र थिएन, उसले आफूलाई पूर्ण रूपमा एउटा शक्ति ध्रुवको विपक्षमा उभ्यायो र विकल्पहरू बन्द गर्‍यो ।
नेपाल पनि दुई ठूला शक्ति भारत र चीनको बीचमा छ । माथिबाट अमेरिका, तलबाट दक्षिण एसिया, वरिपरि भूराजनीतिक प्रतिस्पर्धा । यस्तो अवस्थामा नेपालले “हामी कसैको पक्षमा छैनौँ” भन्ने वाक्य मात्र दोहोर्‍याएर सुरक्षित रहन सक्दैन ।

भारत–चीन बीचको सन्तुलन: नेपालका लागि जीवनरेखा
नेपालको सबैभन्दा ठूलो शक्ति भनेकै सन्तुलन कूटनीति हो । न भारतलाई चिढ्याउने, न चीनलाई शंकामा पार्ने, न अमेरिकालाई अनावश्यक रूपमा उक्साउने । भेनेजुएलाले अमेरिका विरुद्ध खुला मोर्चा खोल्यो, चीन–रुसमा अत्यधिक निर्भर बन्यो, र अन्ततः एक्लियो । नेपालले यस्तो गल्ती गर्नै हुँदैन ।

नेपालले बुझ्नुपर्ने कुरा के हो भने भारत हाम्रो भौगोलिक यथार्थ हो । चीन हाम्रो रणनीतिक विकल्प हो । अमेरिका हाम्रो अन्तर्राष्ट्रिय प्रभाव क्षेत्र होयी तीनैसँग सम्बन्ध बिग्रियो भने नेपालसँग उभिने कोही हुँदैन ।

आन्तरिक कमजोरी नै बाह्य हस्तक्षेपको ढोका हो
भेनेजुएलामा बाह्य हस्तक्षेप सम्भव हुनुको मूल कारण आन्तरिक विफलता हो — आर्थिक संकट, राजनीतिक विभाजन, जनअसन्तोष, संस्थागत कमजोरी । जब देशभित्रै जनता राज्यप्रति असन्तुष्ट हुन्छन्, बाह्य शक्तिले “उद्धार”को नाममा पस्ने मौका पाउँछन् ।

नेपालमा पनि यदि राजनीतिक अस्थिरता बढिरह्यो भने अर्थतन्त्र झन् कमजोर बन्दै गयो भने राज्य संस्थाहरू दलको कब्जामा परिरहे भने भोलि कुनै पनि शक्ति “लोकतन्त्र”, “मानवअधिकार” वा “स्थिरता” को नाममा दबाब बढाउन सक्छ । हस्तक्षेप सधैँ हेलिकप्टरबाट मात्र हुँदैन — ऋण, प्रतिबन्ध, कूटनीतिक अलगाव पनि हस्तक्षेपकै रूप हुन् ।

सेना होइन, नीति बलियो हुनुपर्छ
नेपालले भेनेजुएलाजस्तो ठूलो सेना बनाउनु पर्दैन । तर राजनीतिक स्पष्टता, कूटनीतिक परिपक्वता र राष्ट्रिय सहमति चाहिन्छ । विदेशी नीति सरकार फेरिँदा फेरिनु हुँदैन । आज अमेरिका नजिक, भोलि चीनतिर, पर्सि भारतसँग झगडा — यस्तो नीति देश डुबाउने सूत्र हो । नेपालका ठूला दलहरूले कम्तीमा एक विषयमा सहमति गर्नैपर्छ — राष्ट्रहित विदेश नीतिमा दलभन्दा माथि हुन्छ

भेनेजुएला घटना नेपालका लागि चेतावनी हो, भविष्यवाणी होइन। हामी भेनेजुएला होइनौं, तर यदि 
शासन कमजोर बनायौं, संस्थालाई राजनीतिक खेलौना बनायौं र कूटनीतिलाई दलको एजेन्डा बनायौं भने इतिहासले स्थान होइन, प्रवृत्ति हेर्छ।  साना देशहरू बाँच्छन्—जब उनीहरू सन्तुलित, आत्मनिर्भर र संस्थागत रूपमा बलिया हुन्छन्। भेनेजुएलाले देखाएको बाटो नेपालले हिँड्नैपर्ने छैन, तर हेरेर नबुझ्नु भने ठूलो भूल हुनेछ। यो घटना टाढाको समाचार मात्र होइन 
यो नेपालका लागि मौन चेतावनी हो। 
साना देशहरू सुरक्षित रहन चाहन्छन् भने तीन कुरा अनिवार्य छन् । आन्तरिक स्थिरता, सन्तुलित कूटनीति र राष्ट्रिय एकता । यदि यी तीन कमजोर भए भने, “सार्वभौमसत्ता” भाषणमा मात्र सीमित हुन्छ ।
नेपालले भेनेजुएलाबाट सिक्नुपर्ने मुख्य पाठ यही हो कमजोर राष्ट्रमाथि प्रश्न उठ्दैन, प्रयोग हुन्छ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार