NL न्यूज
, एनटी रामाराव, जयललिता जस्ता कलाकारहरू सिधै सत्ता नेतृत्वमा पुगे। बलिउडमा अमिताभ बच्चनदेखि हेमा मालिनी, जया बच्चन, शत्रुघ्न सिन्हासम्म संसद्मा पुगे। पछिल्ला वर्षहरूमा कंगना रनावतको खुला राजनीतिक भूमिकाले यो ट्रेन्ड अझै चर्किएको छ। तमिलनाडुमा विजय थलपति, पवन कल्यानका कारण उभार आएको छ । यही ‘सेलिब्रिटी पोलिटिक्स’को प्रभाव नेपाली राजनीतिमा पनि स्पष्ट देखिन थालेको छ। सामाजिक सञ्जालको लोकप्रियता, फ्यान फलोइङ र मिडिया एक्सपोजरलाई राजनीतिक पुँजीमा बदल्ने प्रयास नेपालमा पनि तीव्र बनेको छ।
जेनजी आन्दोलन र कलाकारहरूको खुला समर्थन
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ विमर्श जन्मायो। भ्रष्टाचारविरोधी नारासहित सडकमा उत्रिएको यो आन्दोलनमा कलाकारहरूको उपस्थितिले थप ध्यान खिच्यो। निर्देशक निश्चल बस्नेत, अभिनेता आसिफ शाह, अर्जुन घिमिरे ‘पाँडे’, विशाल भण्डारीलगायत कलाकारहरू आन्दोलनमा सक्रिय देखिए।
विशेषगरी संसद् भवन अगाडि राष्ट्रिय झन्डा ओढेर उभिएका निश्चल बस्नेतको भिडियो भाइरल भयो। आन्दोलनकारीलाई उक्साएको आरोप लागे पनि उनले आफू आगजनी र तोडफोडमा संलग्न नभएको दाबी गर्दै छानबिनको माग गरे। यही घटनाले कलाकार र राजनीति सम्बन्धको बहसलाई थप चर्कायो।
दलमा प्रवेश गरिरहेका नयाँ अनुहार
जेनजी आन्दोलनपछिको राजनीतिक माहोलमा केही कलाकार खुलेरै दलीय राजनीतिमा प्रवेश गरिसकेका छन्। अभिनेत्री तथा रियालिटी शो होस्ट रिमा विश्वकर्मा, ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’को केन्द्रीय सदस्य बनिन् । टेलिभिजनको व्यस्ततालाई छाडेर ‘फुलटाइम’ राजनीतिमा लाग्ने घोषणा नै उनको प्रवेशको विशेषता हो। अहिले रास्वपा र उज्यालो पार्टीबीच एकता भएपछि रास्वपाको समानुपातिक बन्दसूचीमा दलित क्लस्टरमा अटाएकी छन् ।
अर्की अभिनेत्री निशा अधिकारी वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीबाट सक्रिय राजनीतिमा छिन्। महिला विभाग प्रमुखको जिम्मेवारी पाएकी निशा महिलालाई निर्णायक भूमिकामा पुर्याउन राजनीति रोजेको बताउँछिन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसूचीमा पनि कलाकारहरूको नाम बाक्लै देखिन्छ। गायिका सत्यकला राई, त्रिशला गुरुङ, गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेता आसिफ शाह, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठलगायत नाम बन्दसूचीमा परेका छन्।
बालेन–रवि सहमति र कलाकारहरूको भूमिका
राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमतिमा पनि कलाकारहरूको सक्रियता देखियो। यो सहमतिका पर्दापछाडि निर्देशक निश्चल बस्नेत प्रमुख पात्रमध्ये एक थिए।
बालेन मेयरमा चुनाव लड्दादेखि नै बस्नेत उनको अभियानमा सक्रिय थिए। संसदीय राजनीतिमा आउन बालेनलाई घच्घच्याउने पात्रमध्ये निश्चल नै रहेको राजनीतिक वृत्तमा चर्चा छ। यद्यपि उनी स्वयं संसद् राजनीतिमा आउने वा नआउनेबारे अझै मौन छन्।
कलाकार सफल भएको छैन इतिहास, केही अपवाद
नेपाली राजनीतिमा कलाकारको प्रवेश नयाँ होइन। अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, निर्देशक मनोज पण्डित, हाँस्य कलाकार हिमेश पन्त, सरोज खनाल, अशोक शर्मा जस्ता थुप्रै नाम यसअघि राजनीतिमा आएका थिए। तर धेरैको यात्रा टिकाउ हुन सकेन। रेखा थापा माओवादी, राप्रपा हुँदै विभिन्न धारमा पुगिन् तर चुनावी राजनीतिमा असफल भइन्। गत महाधिवेशनमा उनी पार्टीभित्रै पनि पराजित भएकी थिइन् । करिश्मा मानन्धर नयाँ शक्ति र एमाले हुँदै अहिले निष्क्रिय छिन्। मनोज पण्डित स्वतन्त्र उम्मेदवार बनेर निकै कम मत पाएपछि पुनः फिल्ममै फर्किए।
तर सबै असफल मात्र छैनन्। गायिका कोमल वली, अभिनेता रोज राणा र मदुकुमार श्रेष्ठ जस्ता कलाकार राजनीति हुँदै मन्त्रीसम्म पुगेका उदाहरण हुन्।
कलाकार सफल राजनीतिज्ञ बन्छन् त ?
अभिनेता दीपकराज गिरी कलाकारको राजनीति प्रवेशलाई व्यक्तिगत स्वतन्त्रता मान्छन्, तर सफल राजनीतिज्ञ बन्न आवश्यक गुण कलाकारमा कम हुने तर्क गर्छन्। उनका अनुसार राजनीतिज्ञ धैर्यवान, आवेग नियन्त्रण गर्न सक्ने र रणनीतिक हुनुपर्छ। कलाकारको छिटो प्रतिक्रिया दिने स्वभाव राजनीतिमा बाधक बन्न सक्छ। दक्षिण एसियाली इतिहासमै हेर्दा कलाकार राजनीतिमा दीर्घकालीन रूपमा सफल भएको उदाहरण सीमित रहेको उनी बताउँछन्।
क्रेज कि रूपान्तरण ?
जेनजी आन्दोलनपछि कलाकारहरूको राजनीति मोह बढ्नु केवल फेसन वा क्रेज मात्र हो कि वास्तविक रूपान्तरण, त्यो समयले नै बताउनेछ। भारतीय राजनीतिबाट आएको ‘सेलिब्रिटी पोलिटिक्स’को प्रभाव नेपालमा देखिन थालेको छ। तर यहाँको राजनीतिक संरचना, क्याडर सिस्टम र आन्तरिक संघर्ष फरक छन्। कलाकारका लागि लोकप्रियता प्रवेशद्वार हुन सक्छ, तर राजनीतिमा टिक्न विचार, धैर्य र निरन्तर संघर्ष अनिवार्य छ। जेनजी पुस्ताको भरोसा जित्न कलाकारहरू कति सफल हुन्छन्, त्यो अबको केही वर्षमा स्पष्ट हुनेछ।





प्रतिक्रिया दिनुहोस्